काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अब नेपालको कुनै पनि भाग दुर्गम रहन नसक्ने बताएका छन् । सडक तथा यातायातको पहुँच नपुगेकै कारण देशको कुनै पनि भाग र क्षेत्रलाई दुर्गम हुन नदिईने उनले जनाएका छन् ।
बुधबार आयोजीत मेची राजमार्ग अन्तर्गत पाँचथरको हेँवा खोलामा निर्मित मोडुलर ब्रीज (बेलीब्रीज) को उद्घाटन कार्यक्रममा उनले देशका ७७ ओटै जिल्लामा सडक सञ्जाल पुर्याईको भन्दै आवश्यक स्थानका सडकहरु थप स्तरीकरण र निर्माण पनि गरिने बताए । मन्त्री दाहालले भने, ‘अब पनि कुनै भागमा सडक पुगेन, यो क्षेत्र त दुर्गमै रहयो भन्ने अवस्था आउँदैन र आउन दिईँदैन ।’
सरकारले राष्ट्रिय गौरवका एवम् रुपान्तरणकारी आयोजना, छिमेकी देशसँगको यातायात पहुँच स्थापित गर्ने, अन्य राष्ट्रिय राजमार्ग, ठूलो जनसंख्यालाई लाभ पुर्याउने तथा नागरिकको आर्थिक विकासमा पनि टेवा पुर्याउने योजनाहरुलाई प्राथमिकता दिएको उनले उल्लेख गरे ।
नेपालको पूर्वाधारका क्षेत्रमा छिमेकी मुलुक भारतबाट भई रहेको सहयोग प्रति धन्यवाद ज्ञापन गर्दै मन्त्री दाहालले आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास पनि व्यक्त गरे । सो स्थानमा बेलीब्रीज जडानमा क्रममा एक पटक दुर्घटना भएपछि समेत भारत सरकारले तदारुकताका साथ प्राविधिकहरु समेत पठाएर नेपाल र नेपालीहरुलाई ठूलो गुन लगाएको भन्दै राजदूत मार्फत भारत सरकारलाई धन्यवाद समेत व्यक्त गरे ।
मन्त्री दाहाल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले संयुक्त रुपमा सो पुलको उद्घाटन गरेका हुन् सो कार्यक्रममा भारतीय राजदूत श्रीवास्तवले नेपाल र भारत विचको युगौ पुरानो सम्न्धब रहि आएको स्मरण गरे । नेपाल र नेपालीको हितका लागि सहयोग गर्न पाउँदा भारत सरकार खुसी रहेको समेत उनले बताए ।
आगामी दिनमा नेपाल र भारत विचको सहकार्य सम्बन्ध थप प्रगाढ रहने पनि उनले विश्वास व्यक्त गरे । पुल जडानका क्रममा भएको घटनाबाट निराश र हतोत्साही नभई शिक्षा लिएर कार्य सम्पन्न गर्न पाउँदा भारत सरकार समेत खुसी रहेको उनले बताए ।
यस्तै मन्त्रालयका सचिव केशवकुमार शर्माले भारत सरकारले उपलव्ध गराएको सो पुल जडानका लागि कर्मचारी, प्राविधिक सहित स्थानीयबासीहरुबाट ठुलो सहयोग प्राप्त भएको बताए । स्थानीय तहहरु, स्थानीयबासी तथा सवै क्षेत्रबाट प्राप्त सहयोगलेनै उक्त पुल जडान कार्य सफल भएको शर्माको भनाई थियो । सडक विभागका महानिर्देशक डा। बिजय जैसीका अनुसार ३ करोड ४९ लाख रुपैयाँको लागतमा दोभान–सुपरसौगात–लाईट विल्डर्स जेभीले सो पुल जडान गरिएको छ । कार्यस्थलमा आधारीत १० दिने तालिम सहित सो पुल जडान गरिएको उनले बताए ।
भारतीय सरकारको सहयोगमा सो पुल उपलब्ध भएको हो । ७०।१०४ मिटर लामो र ४।२५ मिटर चौडा रहेको सो पुल नेपालका लागि नौलो र यस प्रविधिको सबैभन्दा लामो रहेको सडक डिभिजन कार्यालय ईलामका प्रमुख पवन भट्टराईले जानकारी दिए ।
मेची राजमार्ग हुँदै पाँचथरको हिलिहाङ्, याङ्वरक, फालेजुङ् सहित ताप्लेजुङ् जिल्लालाई जोड्ने सो स्थानको पुल २०८० को बाढीले बगाएको थियो । त्यस लगत्तै बनाईएको बेलीब्रीज समेत २०८१ असोजमा आएको बाढीले बगाएपछि सडक विभाग तथा मन्त्रालयले उच्च प्राथमिकता दिएर पुनः अर्को बेलीब्रीज जडानको कार्य अघि बढाएको थियो ।
मृतकका परिवारलाई राहत
सोही स्थानमा बेलीब्रीज जडान अन्तिम चरणमा पुगेको बेला गत जेष्ठ ३१ गते भएको दुर्घटनामा ३ जना मजदुरको मृत्यु हुनका साथै पुलको २० प्रतिशत सामाग्री नष्ट भएको थियो । त्यस पश्चात भारतबाट आएका प्राविधिकहरु समेतको टोलीले पुनः द्रुत रुपमा कार्य अघि बढाई जडानको काम सम्पन्न भएको ईन्जिनियर प्रमोद खतिवडाले जानकारी दिए ।
पुल निर्माणको क्रममा ज्यान गुमाएका मजदुरहरु रुपलाल चौधरी, राजन राय र राकेश राय थारुको सम्मानमा पुलसँगै स्मृति स्तम्भ समेत निर्माण गरिएको छ । सोहि कार्यक्रममा मन्त्री दाहालले पुल जडानका क्रममा भएको घटनामा निधन भएका मजदुरका परिवारलाई जनही एक लाख रुपैयाँका दरले राहत रकम प्रदान गरिने घोषणा पनि गरिएको छ ।

