काठमाडौं । नेपाल स्टक एक्सचे्ञ्ज, नेप्सेमा सूचीकृत ५० वटा लघुवित्त कम्पनीहरुले गत वर्षको अन्तिम त्रैमाससम्म ८ अर्ब ४१ करोड नाफा कमाएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७२.६९ प्रतिशत धेरै हो । अघिल्लो वर्ष माइक्रोफाइनान्स कम्पनीहरुले ४ अर्ब ८७ करोड नाफा आर्जन गरेका थिए ।
यता, संस्थाहरुको खुद ब्याज आम्दानी पनि बढेको छ । आम्दानी २६ अर्ब ३१ करोडबाट बढेर ३१ अर्ब ३१ करोड कायम भएको छ । उक्त आम्दानी बढ्दा नाफामा पनि सुधार आएको छ । साथै, अधिकांस संस्थाहरुको इम्पेयरमेन्ट चार्ज घटेको छ । रिपोर्ट अनुसार ३० वटा लघुवित्तको प्रतिसेयर आम्दानी २० रुपैयाँ भन्दा धेरै छ । ५० कम्पनीमध्ये ३ वटाले मात्र खुद घाटा व्यहोरेका छन् ।
कुनको कस्तो छ वित्तीय अवस्था ?
चुक्ता पुँजी र जगेडा कोष
५० वटा लघुवित्त संस्थामध्ये साना किसानको चुक्ता पुँजी सबैभन्दा धेरै ४ अब ३१ करोड रुपैयाँ रहेको छ । त्यसपछि, छिमेकको पुँजी ३ अर्ब २१ करोड रहेको छ । सबैभन्द कम पुँजी समाज लघुवित्तको छ । ५० वटा संस्थाको पुँजी ३८ अर्ब ३७ करोड ५० लाख रुपैयाँ छ । त्यसैगरी, साना किसानको जगेडा कोषमा सबैभन्दा धेरै ४ अर्ब १३ करोड रुपैयाँ छ । समग्रमा ५० वटा लघुवित्तको जगेडा कोषमा ३० अर्ब ४० करोड रुपैयाँ छ ।


खुद ब्याज आम्दानी
छिमेक लघुवित्तले असारसम्म २ अर्ब ८१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो वर्षको भन्दा ०.८४ प्रतिशत कम हो । जीवन विकासले २ अर्ब ११ करोड खुद ब्याज आम्दानी गरेको छ । ५० वटा संस्थाले ३१ अर्ब ३१ करोड रुपैयाँ बराबरको ब्याज आम्दानी गरेका छन् । अघिल्लो वर्ष उक्त आम्दानी २६ अर्ब ३१ करोड थियो ।


नाफा
छिमेक लघुवित्तले सबैभन्दा धेरै १ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा २८.४३ प्रतिशत धेरै हो । साना किसानले ८७ करोड ८७ लाख, निर्धन उत्थानले ८३ करोड ६० लाख नाफा कमाएको छ । ३ वटा संस्थाले भने खुद घाटा व्यहोरेका छन् । समग्रमा यी संस्थाहरुले ८ अर्ब ४१ करोड नाफा कमाएका छन् ।


प्रतिसेयर आम्दानी समाजको धेरै
समाज लघुवित्तको प्रतिसेयर आम्दानी ६२.१० रुपैयाँ छ । आत्मनिर्भरको ५७.०१, जीवनको ४८.२ रुपैयाँ ‘इपीएस’ छ । ४१ वटाको प्रतिसेयर आम्दानी १० रुपैयाँ भन्दा धेरै छ । यता, प्रतिसेयर नेटवर्थ भने आत्मनिर्भरको सबैभन्दा धेरै ३८४.८२ रुपैयाँ रहेको छ ।



