अरनिको राजमार्ग सञ्चालनमा

काठमाडौं । पहिरोको कारण अवरुद्ध भएको अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको छ । नेपाल र चीन जोड्ने सो राजमार्गको अन्तराष्ट्रिय नाका तातोपानी नाका कोदारी नजिक पहिरो जाँदा सो खण्ड अवरुद्ध भएको थियो । पहिरोको माथिल्लो भागमा स्थानीयबासीको बस्ति रहेको र उक्त पहिरोको कारण बस्ति समेत जोखिममा रहेको हुँदा कठिनाई भएको थियो ।

सडक डिभिजन चरीकोटबाट खटिएको यन्त्र, उपकरण सहितको प्राविधिक टोली पहिरो पन्छाउन खटिएको थियो । सो स्थानमा नयाँ डिजाईन अनुसार काम गर्नु पर्ने भएकाले हाल पानी र पहिरो नियन्त्रणको काम समेत भई रहेको सडक विभागका महानिर्देशक डा. बिजय जैसीले जानकारी दिएका छन् । पहाडी धरातल र लेदो बगि रहने गरेका कारण सो स्थानमा समय समयमा समस्या आउने गरेको छ ।

ग्याविन पर्खाल लगायतका अन्य संरचनाहरुको निर्माण गरि सडक अवरुद्ध हुन नदिन प्राविधिक टोली क्रियाशिल रहेको जैसीले बताएका छन् । सो स्थानको पहिरो नियन्त्रणको दिगो समाधानका लागि विज्ञ सम्मिलित टोलीले अध्ययन समेत जारी राखेको सडक विभागले जनाएको छ ।

पहिलो चरणमा पहिरो पन्छाएर साना तथा हलुका सवारी साधन सञ्चालन गरिएको र बिहीबार अपह्रान्ह देखि ठुला सवारी साधनहरु समेत सञ्चालन हुन थालेको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौका प्रमुख शुभराज न्यौपानले जानकारी दिएका छन् । यातायात सहज रुपमा सञ्चालनका लागि प्राविधिक तथा उपकरणहरु अझै कार्यक्षेत्रमानै परिचालित रहेको उनले जनाएका छन् ।

केही दिन अघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले उक्त राजमार्गमा गई रहने पहिरो नियन्त्रणका लागि दिगो विकल्प खोज्न सडक विभागलाई निर्देशन दिएको थियो । दिर्घकालिन समाधानका लागि केहि समय लाग्ने भए पनि चाडपर्वहरु नजिकिदै गरेको समयमा राजमार्ग अवरुद्ध हुन नदिने गरी प्राविधिक तथा जनशक्ति परिचालन गर्न मन्त्री दाहालको निर्देशन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार