होटल बाराहीको १ वर्षको आम्दानी ६५ करोड रुपैयाँ

काठमाडौं । होटल बाराही प्रालिले गत वर्ष ( सन् २०२५) ६५ करोड रुपैयाँ बराबरको आम्दानी गरेको छ । यो सन् २०२४ को भन्दा २०.८१ प्रतिशत धेरै हो । सन् २०२४ मा यस कम्पनीले ५३ करोड ८० लाख, सन् २०२३ मा २२ करोड ९० लाख, सन् २०२१ मा १ करोड ७० लाख आम्दानी गरेको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ ।

होटल बाराहीले नेपालका दुई प्रमुख शहर, पोखरा र काठमाडौंमा ४-स्टार होटल सञ्चालन गर्दै आएको छ । हाल कम्पनीको पोखरा होटलमा १०२ कोठा छन् भने काठमाडौं होटलमा १०० कोठा छन् । पोखराको होटल यस कम्पनीको आफ्नै सम्पत्ति हो भने काठमाडौंको होटल बाराही हाउजिङ एन्ड लिज प्रालिबाट भाडामा सञ्चालन भइरहेको छ ।

होटलले १ अर्ब ३२ करोड कर्जाका लागि रेटिङ गराएको छ । जसमध्ये सर्ट ट्रम ३ करोड कर्जाका लागि ‘इक्रा एनपी ए४’ र लङ ट्रम कर्जाका लागि ‘इक्रा एनपी एलबीबी’ रेटिङ प्राप्त गरेको छ । रेटिङ सुधारको मुख्य कारण कम्पनीको वित्तीय प्रदर्शनमा आएको सकारात्मक परिवर्तन हो । कम्पनीले आफ्नो संचालन आम्दानी बढाएको छ, भरण दर (Occupancy) सुधार गरेको छ ।

होटल बाराहीका लागि केही चुनौतीहरू भनेको उच्च ऋण भार र विगतका घाटा हुन् । काठमाडौं र पोखराका नयाँ कोठा थप गर्दा कम्पनीको कुल ऋण/OPBITDA लगभग ५ गुणा पुगेको छ । यसले कम्पनीको वित्तीय संरचनामा दबाब पैदा गरेको छ । साथै, होटल उद्योगमा मौसमी उतार-चढाव, तीव्र प्रतिस्पर्धा, ब्याजदरको अस्थिरता र बाह्य जोखिम पनि होटल बाराहीका लागि चुनौतीपूर्ण पक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार