नाडा अटो शोः कुन बैंकबाट फाइनान्सिङ गर्दा लाभ

काठमाडौं। प्रत्येक वर्ष चाडपर्व नजिकिँदै जाँदा देशभर विभिन्न प्रदर्शनीहरू आयोजना हुने परम्परा छ। यस अवधिमा नेपाली बजारमा नयाँ–नयाँ सामान भित्रिने र किनबेचमा चहलपहल बढ्ने गर्छ। खाद्यान्नदेखि लत्ता–कपडा, गरगहना, सवारी साधनसम्मको कारोबार उल्लेख्य हुने हुँदा कम्पनीहरूले नयाँ मोडलका सवारीसाधन सार्वजनिक गर्ने अवसरका रूपमा नाडा अटो शोलाई प्रयोग गर्दै आएका छन्।

सवारी साधनको महाकुम्भ नाडा अटो शो पनि चाड पर्व अघि आयोजना हुने गर्छ। हरेक वर्ष आयोजना हुने अटो शोको १७ औं संस्करण नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा भाद्र ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी छ। प्रदर्शनमा दुई पांग्रे, चार पांग्रे सवारी साधनको बाक्लो उपस्थिति देख्न सकिन्छ।
अटो शोलाई सवारी साधनको किन बेच हुने थलोको रुपमा पनि उपयोग गरिन्छ। यहाँ लाखौंदेखि करोडौं मूल्यका सवारी साधन छन्। एकै पटक करोडौं रुपैयाँ हालेर सवारी किन्न कठिन हुन्छ। यस्तोमा फाइनान्सिङको आवश्यकता पर्छ।

यस्तो गाडी किन्ने उपभोक्तालाई सहजता प्रदान गर्न बैंकहरुले स्टल राखेका छन्। अटो शोमा बैंक तथा वित्तीय संस्थाले दुई प्रकारले कर्जा प्रवाह गर्दै आएका छन् । पहिलो, गतिशील ब्याजदर र दोस्रो, स्थिर ब्याजदर । गतिशील प्रणाली अनुसार बैंकको आधार ब्याजदरमा प्रिमियम थप गरेर ब्याजदर निर्धारण गरीएको हुन्छ ।
नाडा अटो शोमा स्टल राखेका बैंकमध्ये लक्ष्मी सनराइज बैंकले आधारदरमा एक प्रतिशत प्रिमियम थपेर कर्जा प्रदान गरिरहेको छ। बैंकले नाडा अटो शोका लागि ७ वर्षसम्म अवधिका लागि ७.९९ प्रतिशतको स्थिर दर अफर ल्याएको छ । सेवा शुल्कमा पनि ३३ प्रतिशत छुटको व्यवस्था छ ।

यसैगरी नबिल बैंकले ६.७४ प्रतिशत गतिशील ब्याजदरमा ७ वर्षका लागि अटो कर्जा अफर गरेको छ । उक्त लोनमा प्रशासनिक खर्च ०.५० प्रतिशत लाग्छ।

हिमालयन बैंकले ८ वर्षसम्मको अवधिका लागि सवारी कर्जाको व्यवस्था गरेको छ । बैंकले ७.५० गतिशील प्रतिशत ब्याजदरमा सवारी कर्जा दिने जनाएको छ । त्यसमा ०.५० प्रतिशत सेवा शुल्क लाग्ने बैंकले जानकारी दिएको छ।

यस्तै नाडा अटो शोका लागि सानिमा बैंकले पाँच वर्षका लागि ७.९९ र सात वर्षमा ८.१५ प्रतिशत ब्याजदरमा अटो लोनको अफर गरेको छ । यसका लागि सेवा शुल्क ०.५० प्रतिशत तोकेको छ।

यस्तै एनएमबि बैंकले नाडाको लागि वेस रेट ७.१३ प्रतिशत ब्याजदरमा अटो लोनको अफर गरेको छ भने यसको अबद्दि ५ देखि ७ वर्षको लागि रहेको छ। बैंकले एक प्रतिशत भन्दा कम प्रिमियममै अटो लोनको अफर ल्याएको छ।

नेपाल एसबिआई बैंकले बेसरेट ०.७० प्रिमियरका अटो लोन उपलब्ध गराईरहेको छ , । बैकले ३ वर्ष अवधिको कर्जा ७.९९ प्रतिशत, ५ वर्षको ८.४९ प्रतिशत र ७ वर्षको ८.९९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार