काठमाडौं । छिमेकी देश पाकिस्तानको सेयर बजार २ महिनामा २८.४४ प्रतिशत भन्दा धेरैले बढेको छ । पाकिस्तान स्टक एक्सचेन्जको बेन्चमार्क ‘केएसई १००’ हाल १ लाख ४९ हजार विन्दुमा बन्द भएको छ । २ महिना अघि अर्थात, जुन २३ मा उक्त सूचकांक १ लाख १६ हजार अंकमा थियो । २ महिनामै मार्केट ३३ हजार अंकले बढेको हो । १ वर्षमा ‘केएसई १००’ ९२ प्रतिशत बढेको छ । यसले त्यहाँको मार्केट बुलिस रहेको संकत गर्छ ।
आर्थिक संकट, मुद्रास्फीति र राजनीतिक अस्थिरता जस्ता चुनौतीहरुबीच पनि बजारको तीव्र उकालो लगानीकर्ताहरुको विशेष चासोको विषय बनेको छ । यस वृद्धि पछाडि विभिन्न कारणहरु रहेका छन् जसले बजारलाई थप उत्साहित बनाएको छ ।
अन्तर्राष्ट्रिय मुद्राकोषबाट प्राप्त आर्थिक सहयोगले बजारमा सकारात्मक संकेत पुर्याएको जनाइएको छ । पाकिस्तानले आइएमएफको ऋण तथा सुधार कार्यक्रम मार्फत अस्थायी भए पनि आर्थिक स्थायित्व हासिल गरेको छ, जसले लगानीकर्तामा विश्वास बढाएको छ । यता, ब्याजदर घट्ने अपेक्षाले पनि ठूलो भूमिका खेलेको छ । उच्च ब्याजदरले बैंकमा बचत आकर्षक बनाउँछ तर ब्याजदर तल झर्ने संकेतले लगानीकर्तालाई बैंकमा पैसा राख्नु भन्दा सेयर बजारमा लगानी गर्न प्रेरित गरेको छ ।
साथै, राजनीतिक स्थायित्वप्रतिको आशा पनि महत्त्वपूर्ण कारण हो । सरकारले ल्याएका नीतिहरु, बजेटमा सेयर लगानीलाई नकारात्मक असर पार्ने नयाँ कर नलगाइएको तथ्य तथा केही क्षेत्रमा अनुकूल वातावरण सिर्जना भएकोले बजारमा उत्साह बढेको छ । यससँगै बैंकिङ, मल, तेल तथा ग्यास जस्ता ठूला क्षेत्रका कम्पनीहरुले उच्च नाफा कमाई बजारलाई माथि धकेलेका छन् ।
यी कम्पनीहरुको बलियो वित्तीय परिणामले सूचकाङ्कमा प्रत्यक्ष प्रभाव पारेको छ । साथै, भारत–पाकिस्तानबीचको तनाव केही हदसम्म कम हुने संकेतले पनि लगानीकर्तामा सकारात्मक भावनाको विकास गरेको छ । यता, पाकिस्तानसँगै चीनको सेयर बजारमा पनि उच्च विन्दुमा पुगेको छ ।
चीनको सांघाइ स्टक एक्सचेन्ज कम्पोजिट इन्डेक्स १० वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । मार्केट ३ हजार ८०० विन्दुमा भन्दा माथि पुगेको हो । त्यसैगरी, श्रीलंकाको सेयर बजार पनि हालसम्मकै उच्च विन्दुमा पुगेजको छ । त्यहाँको कोलम्बो स्टक एक्सचेन्जको अल सेयर इन्डेक्स २० हजार विन्दु भन्दा माथि छ ।

