लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन पाउने  

काठमाडौं । निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएको र पुँजीकोष अनुपात १२ प्रतिशतभन्दा माथि भएको लघुवित्त संस्थाहरुले २५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ सशोधन गर्दै यस्तो व्यस्था ल्याएको हो ।

पुँजीकोष १२ प्रतिशतभन्दा माथि भएपनि निष्क्रिय कर्जा ५ देखि १० प्रतिशतसम्म भएमा २० प्रतिशत लाभांश दिने पाउने निर्देशनमा उल्लेख छ ।त्यस्तै निष्क्रिय कर्जा १० प्रतिशतभन्दा माथि १५ प्रतिशतसम्म भएर पनि पुँजीकोष अनुपात १२ प्रतिशतभन्दा माथि भएमा १५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

पुँजीकोष अनुपात १० देखि १२ प्रतिशतसम्म भएका लघुवित्तले निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम हुँदा २० प्रतिशत लाभांश वितरण गर्न पाउने भएका छन् । त्यस्तै निष्क्रिय कर्जा ५ देखि १० प्रतिशतसम्म हुनेले १५ प्रतिशत र निष्क्रिय कर्जा १० देखि १५ प्रतिशतभन्दा माथि हुनेले १० प्रतिशत लाभांश वितरण गर्न पाउने छन् ।

 

पुँजीकोष र निष्क्रिय कर्जाबाहेक अन्य आधार समेत लिनुपर्ने देखिएमा राष्ट्र बैंकले तोकिएको सीमाभन्दा कम हुने गरी लाभांश स्वीकृति प्रदान गर्न सक्ने निर्देशनमा उल्लेख छ। राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी कायम गर्न नसकेका लघुवित्तले भने लाभांशमा बोनस सेयर मात्रै वितरण गर्नुपर्नेछ । १५ प्रतिशत भन्दा धेरै निष्कृय कर्जा अनुपात (एनपीएल) भएका लघुवित्त संस्थाहरुले लाभांश वितरण गर्न नपाउने भएका छन् ।

निर्देशनमा भनिएको छ, “लघुवित्त वित्तीय संस्थाले नगद लाभांश वितरणको प्रस्ताव गर्नुपरेमा न्यूनतम ९ प्रतिशत पुँजीकोष अनुपात कायम गर्नुपर्नेछ । साथै १५ प्रतिशत भन्दा बढी निष्कृय कर्जा अनुपात भएका लघुवित्त वित्तीय संस्थाहरुले लाभांश वितरण गर्न सक्ने छैनन्।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार