काठमाडौं । नेपाल पर्यटन बोर्ड र नेपाल आर्ट काउन्सिलले काठमाडौं उपत्यकाका चारओटै महानगरपालिकासँगको सहकार्यमा पहिलोपटक नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल–२०२५ आयोजना गर्ने भएका छन् ।
बोर्डको सभाहलमा आइतबार भएको पत्रकार सम्मेलनमार्फत् ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल’ आगामी २० असोजदेखि असोज १० गतेसम्म काठमाडौं, ललितपुर, भक्तपुर र किर्तिपुरमा आयोजना हुने जानकारी गराइएको हो ।
कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै नेपाल आर्ट उन्सिलका अध्यक्ष सागर शमशेर राणाले नेपालमा मात्रै नभई विदेशमा समेत यस्ता सांस्कृतिक पर्वहरूले ठूलो महत्त्व राख्ने भएकाले यसलाई अन्तरराष्ट्रियस्तरसम्म पुर्याउन फेस्टिबल आयोजना गर्न लागिएको जानकारी दिए । उनले कार्यक्रमहरूले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने उद्देश्य राखेको बताए ।
त्यसैगरी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपाल प्रायः साहसिक पर्यटनको गन्तव्यका रूपमा चिनिए पनि यो फेस्टिवलमार्फत नेपाललाई सांस्कृतिक वैभव र धरोहरहरूको भण्डारका रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको स्पष्ट पारे ।
उनले भने, ‘हाम्रो विशिष्ट संस्कृतिलाई जगेर्ना गर्दै धरोहरहरूको वैभवतालाई संसारभर चिनाउनुपर्छ । यस किसिमको महोत्सवले नेपालमा पर्यटकको संख्या बढाउनुका साथै आर्थिक आम्दानीमा योगदान पुर्याउने विश्वास लिएका छौं ।’
फेस्टिवल सञ्चालन समितिका प्रमुख तथा नेपाल होटल व्यवसायी संघ (हान) का अध्यक्ष विनायक शाहले नेपाल ‘लाइफटाइम एक्सपेरियन्स’ को लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गर्दै भने, ‘नेपाल लाइफ टाइम एक्सपेरियन्स लिने उत्कृष्ट गन्तव्य हो । पर्यटन र जात्रा-महोत्सव जोड्ने हाम्रो प्रयास अन्तर्गत थालिएको यस महोत्सवले एक्सपेरिमेन्टल टुरिजमका लागि योगदान गर्ने हाम्रो विश्वास छ ।’
कार्यक्रम संयोजक आयुषा श्रेष्ठले तीन सातासम्म चल्ने यस महोत्सवमा ४० ओटा कार्यक्रमहरू आयोजना गरिने जानकारी दिए । इन्द्रजात्राको अवसरसँगै शुरु हुने यो महोत्सवलाई उपत्यकाका सम्पदा, कला, संस्कृतिको समग्र उत्सवका रूपमा प्रस्तुत गरिने उनले बताए ।
‘नेपालको शाश्वत कला, संस्कृति, खानपान र सम्पदाको उत्सव’ भन्ने नारासहित शुरु हुने महोत्सवले उपत्यकाका चार पालिकासहित पर्यटनसँग सम्बन्धित संघ–संस्था र सरोकारवालालाई समेटेर महोत्सवमा सांस्कृतिक प्रदर्शनी, कला-कौशल, संगीत–नृत्य, परम्परागत परिकार, तथा जीवित संस्कृति अनुभव गर्ने अवसर प्रदान गरिने नेपाल पर्यटन बोर्डले जनाएको छ ।
यसरी, उपत्यकाका पुराना शहर (काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुर)लाई उत्सवमय बनाउन शुरु हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

