टाइगर प्यालेस रिसोर्ट सञ्चालन गर्ने टाइगर वानको आम्दानी ४२ करोड २० लाख, वित्तीय अवस्था निकै कमजोर

काठमाडौं । टाइगर वान प्रालिले गत वर्ष (सन् २०२५) मा ४२ करोड २० लाख आम्दानी गरेको छ । यो अघिल्लो वर्ष ७७.३१ प्रतिशत धेरै हो । सन् २०२४ मा यस कम्पनीले २३ करोड ८० लाख, सन् २०२३ १२ करोड ९० लाख, सन् २०२२ मा ७ करोड ६० लाख र सन् २०२१ मा यसले १ करोड आम्दानी गरेको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ ।

कम्पनीले २ अर्ब ४९ करोड कर्जाका लागि रेटिङ गराएको छ । जसमध्ये लङ ट्रम  २ अर्ब २१ करोड कर्जाका लागि ‘इक्राएनपी एलडी’ र सर्ट ट्रम २८ करोड कर्जाका लागि ‘इक्राएनपी डी’ रेटिङ गराएको छ ।कम्पनीको कमजोर वित्तीय स्थिति, ठूलो संचित घाटा, सञ्चालन आम्दानीको तुलनामा अत्यधिक ऋण बोझ र कमजोर ऋण सेवा क्षमताले पनि रेटिङलाई सीमित बनाएको इक्राले जनाएको छ ।

यद्दपि गत वर्ष कम्पनीको आम्दानी र सञ्चालन नाफा मार्जिनमा सुधार देखिएको छ, तर अझै पनि कोभिड-पूर्व अवधिको तुलनामा कमजोर छ । मार्जिन दीर्घकालसम्म टिक्ने वा नटिक्ने भन्ने कुरा अझै अनिश्चित छ । जबसम्म आम्दानी र नाफा मार्जिन स्थिर रुपमा बढ्दैन ऋण आवरण सूचकांक मध्यम अवधिसम्म कमजोर रहने अनुमान गरिएको छ ।

साथै, कम्पनीले उपयोग गरेको जग्गा सम्बन्धी विवाद (जसमा स्विमिङ पूल र क्यासिनो फ्लोरको केही भाग पर्छ) अहिले तुल्सिपुर उच्च अदालतमा अपिलमा रहेको छ । यस मुद्दाको प्रतिकूल नतिजाले कम्पनीको सञ्चालनमा बाधा पुर्‍याउन सक्छ । इक्रा नेपालका अनुसार कम्पनीले ३० दिनभन्दा बढी समयदेखि ऋण भुक्तानीमा ढिलाइ गरिरहेको छ ।

कम्पनीको होटल ‘टाइगर प्यालेस ’ (टाइगर प्यालेस रिसोर्ट) भैरहवामा रहेको छ । यो नेपालकै पहिलो पाँचतारे एकीकृत क्यासिनो रिसोर्ट हो, जसमा हाल १०२ कोठा सञ्चालनमा छन् । कम्पनीमा सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रा. लि. को पूरै स्वामित्व रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार