काठमाडौं । कृषिमा देखिएको समस्या समाधानको लागि मुक्तिनाथ कृषि कम्पनी स्थापना गरिएको मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक भरतराज ढकालले बताएका छन् ।
मुक्तिनाथ कृषि कम्पनीको आयोजनामा काठमाडौ लाजिम्पाटमा भएको आधुनिक थोक कृषि बजार सम्बन्धित कार्यशाला कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषि चक्र निर्माण नभएसम्म कृषिमा देखिएको समस्या समाधान नहुने बताएका हुन् ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै उनले नेपालमा अन्तर्राष्ट्रिय स्तरको थोक बजार आवश्यक रहेको बताए । उत्पादन देखि बजारसम्म युवालाई जोड्न नसक्दा आज युवा जनशक्ति नेपाल बाहिरिने क्रम नरोकिएको तर्फ ध्यानाकर्षण गर्दै उनले युवाहरूलाई नेपालमै रोक्ने ठुलो क्षेत्र कृषि क्षेत्र भएको उल्लेख गरे । भाषणले मात्रै युवा पलायन नरोकिने भन्दै युवाहरूलाई कृषिमा आकर्षक गर्ने खालका कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ ।
कृषि क्षेत्रलाई बलियो बनाउन बजार,उद्योग र उत्पादन गुणस्तरीय बनाउन कृषि प्रशोधन केन्द्रको आवश्यक रहेको उनको तर्क रहेको छ । २०७५ सालमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनीले अहिले कृषि क्षेत्रमा देखिएको समस्य पहिचान गरि सरकार सुझाव पेस गर्दै त्यसको समाधानको लागि काम गरिरहेको उनले बताए ।

