काठमाडौं । अफगानिस्तानमा आइतबार मध्यराति गएको ६.० म्याग्निच्युडको भूकम्पमा कम्तीमा २५० जनाको ज्यान गएको छ भने ५०० भन्दा बढी घाइते भएका छन्। अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (USGS) का अनुसार भूकम्प जालालाबाद शहरदेखि १७ माइल टाढा, पाकिस्तान नजिकैको सीमा क्षेत्रमा गएको एनबीसीले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानले भूकम्प दुर्गम हिमाली क्षेत्रमा परेकाले मानव क्षति र पूर्वाधार नोक्सानीको यथार्थ विवरण आउन समय लाग्ने बताएका छन्। उनले ठूलो उद्धार अभियान सुरु भइसकेको र सयौं मानिस परिचालन गरिएको जानकारी दिए ।
USGS का अनुसार प्रारम्भिक धक्कापछि सोमबार कम्तीमा पाँचवटा पराकम्प (४.५ देखि ५.२ म्याग्निच्युडसम्म) महसुस भएका छन्। विज्ञहरूले पराकम्प केही दिनसम्म जारी रहन सक्ने र कहिलेकाहीँ पहिलो धक्काभन्दा बढी क्षतिको कारण बन्न सक्ने चेतावनी दिएका छन्।
अफगानिस्तान भूकम्पका लागि संवेदनशील क्षेत्र हो । विशेष गरी पूर्वी अफगानिस्तानको हिमाली भू–भागमा पहिरोको जोखिम पनि उच्च भएकाले उद्धार कार्य थप कठिन भएको छ । भूकम्प जमिनको सतहबाट मात्र ५ माइल (८ किलोमिटर) गहिराइमा गएको थियो, जसका कारण मध्यम तीव्रताको भए पनि क्षति अत्यधिक भएको बताइन्छ।

