काठमाडौं । नेपालमा हवाई कार्गो सेवालाई थप डिजिटल बनाउन यती एअरलाइन्सले ‘यती डोर टु डोर कार्गो सेवा’ सञ्चालनमा ल्याउँदैछ । उपाय सिटी कार्गो प्रालिसँग रणनीतिक साझेदारी गरी यतीले यो सेवा सुरुवात गर्न लागेको हो ।
ग्राहकहरुले यती एअरलाइन्समा कार्गो पठाउनका लागि उपायको अत्याधुनिक लजिस्टिक्स प्लेटफर्म ‘उपाय कम्पलिट’ प्रयोग गरी घरमै बसीबसी ‘डोर टु डोर कार्गो सेवा’ बुक गर्न सक्नेछन् । अब कार्गो पठाउन एअरपोर्ट वा कार्यालय धाउनु पर्ने छैन । उपायले बुकिङअनुसार ग्राहकको घरमै सामान लिन आउने र गन्तव्यसम्म पुर्योइदिने सम्मको सेवा प्रदान गर्ने छ ।
उपायका प्रबन्ध निर्देशक सुमन रायमाझीले भने , ‘“यती एअरलाइन्ससँगको यो साझेदारीले नेपालको कार्गो सेवा क्षेत्रमा नवीन युगको सुरुवात गर्नेछ । उपाय कम्पलीट’ अत्याधुनिक प्रविधिमार्फत् हामी सम्पूर्ण प्रक्रियालाई डिजिटलाइज गर्दैछौं, जसले ग्राहकलाई पूर्ण पारदर्शी र विश्वासिलो सेवा अनुभव प्रदान गर्नेछ ।”
यस सेवा सुरुवात गर्नुको मुख्य उद्देश्य बताउँदै यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने , “यती एयरलाइन्सको प्रतिवद्धता सदैव नेपाललाई छिटो र भरपर्दो रूपमा जोड्ने हो । उपायको प्रविधि र दक्षता तथा हाम्रो हवाई सञ्जाल संयोजन हुँदा देशभरका व्यवसाय र व्यक्तिगत ग्राहकका लागि विश्वसनीय कार्गो सेवा सम्भव हुनेछ ।”
दुवै कम्पनीले आगामी दिनमा सेवालाई अझ आधुनिक बनाउन आर्टिफिसल इ्रन्टेलीजेन्सल’ आधारित रुट अनुकूलन, स्वचालित हबहरू र डेटा–आधारित लजिस्टिक समाधान जस्ता नवीन प्रविधि लागू गर्ने तयारी समेत गरेका छन् । ‘यती डोर टु डोर कार्गो सेवा’ नेपालकै कार्गो क्षेत्रमा एउटा महत्वपूर्ण फड्को मानिएको छ, जसले छिटो, विश्वासिलो र प्रविधिमैत्री ढुवानीलाई नयाँ स्तरमा पुर्याउने अपेक्षा गर्न सकिन्छ ।
यस्तो छ ग्राहकका लागि सुविधा
घरमै संकलन र डेलिभरीः घरमै आइपुग्ने र तोकिएको स्थानसम्म पुर्योउने सुविधा
डिजिटल बुकिङ र ट्रयाकिङः मोबाइल वा वेबमार्फत् सजिलै बुकिङ गर्न सकिने र सामानको स्थिति रियल–टाइममा ट्र्याक गर्न सकिने
विकल्पको सुविधाः चाहनाअनुसार उपाय हबमा कार्गो छोड्न वा परम्परागत एअरपोर्ट–टु–एअरपोर्ट सेवा लिन सकिने

