काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘बीमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ । बीमकले, रेट्रोशेसन, विदेशबाट आयात गर्ने परामर्श सेवा, बापत भुक्तानी गर्नुपर्ने विदेशी मुद्रा सटही सिफारिस गर्ने कार्यलाई पारदर्शी र व्यवस्थित गर्न वान्छनीय भएकाले विदेशी मुद्रा सटही व्यवस्थित बनाउन उक्त निर्देशीका जारी गरेको जनाएको छ ।
बीमा ऐन, २०७९ को दफा १६६ ले दिएको अधिकार प्रयोग गरी बीमा प्राधिकरणले बीमकको विदेशी मुद्रा सटही सिफारिस निर्देशिका जारी गरेको छ । बीमकले विदेशी बीमक वा पुनर्बीमक वा नेपालमा रहेका बीमकमा लगानी गर्ने विदेशी लगानीकर्ता वा बीमकलाई सेवाप्रदान गर्ने विदेशी सेवाप्रदायक संस्थालाई सिधै वा बीमा दलालको संलग्नतामा गरिएको पुनर्बीमासंग सम्बन्धित पुनर्बीमा शुल्क तथा बीमा दावी रकम, लाभांश फिर्ता, परामर्श सेवा लिए बापतको रकम भुक्तानी गर्न प्राधिकरणको सिफारिस लिएर मात्र गर्नु पर्ने व्यवस्था गरिएको छ ।
साथै, बीमकले यस निर्देशनको अतिरिक्त विदेशी लगानीसँग सम्बन्धित प्रचलित कानून र नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन सम्बन्धमा जारी गरेको निर्देशनको समेत पालना गर्नु पर्नेछ । साथै, बीमा कम्पनीहरुले ९३० उपदफा ९१० बमोजिम सिफारिस माग गर्दा भारतको हकमा भारतीय मुद्रामा तथा अन्य मुलुकको हकमा उक्त मुलुकको प्रचलित स्वदेशी मुद्रा वा परिवर्तनीय अमेरिकन डलरमा मात्रै भुक्तानीका लागि सिफारिस माग गर्नुपर्नेछ।
बीमकले पुनर्बीमा शुल्क बापत विदेशी मुद्रा सटही सिफारिस माग गर्दा बीमकले धारण गरेको जोखिमको हिस्सा बाहेकको बाँकी जोखिम शत प्रतिशत हस्तान्तरण गरेको अनुसुची–१ बमोजिमको विवरण तथा स्वघोषणा सहितको सारांश पेस गर्नु पर्नेछ । सटही सिफारिस माग गर्दा प्रचलित कर, सेवा शुल्क, पुनर्बीमा कमिशन वा त्यस्तै कुनै छुटहरु पाउने भएमा सो समेत कट्टा गरी खुद रकमको भुक्तानीका लागि नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था मार्फत विप्रेषण हुने गरी सिफारिस माग गर्नुपर्नेछ ।
साथै, निर्देशिका अनुसार रेटिङ्ग प्राप्त पुनर्बीमा वा रेट्रोसेशन बापत विदेशी मुद्रा सटही माग गर्दा प्राधिकरणले जारी गरेको बीमकको पुनर्बीमा निर्देशिका बमोजिम सूचीकरण भएका विदेशी पुनर्बीमक तथा पुनर्बीमा दलाल र सोही निर्देशिका बमोजिमको रेटिङ्ग प्राप्त पुनर्बीमकको लागि मात्र सिफारिस गरिने व्यवस्था गरेको छ । तर बीमकको पुनर्बीमा निर्देशिका, २०८० लागू हुनु पूर्व गरिएका बीमा वा पुनर्बीमा सम्झौतासँग सम्बन्धित रकमको भुक्तानीका लागि विदेशी मुद्रा सटही सिफारिस माग गर्न वा प्रदान गर्न यस व्यवस्थाले वाधा पुर्याएको मानिने छैन ।
निर्देशीकामा व्यवस्था गरिए बमोजिम विदेशी मुद्रा सटहीका लागि प्राधिकरणसमक्ष सिफारिस माग्दा बीमकका प्रमुख कार्यकारी अधिकृतको हस्ताक्षर अनिवार्य गरिएको छ। बीमकले विदेशी मुद्रा सहटी सिफारिस मागका लागि पेस गरिएका कागजातहरु तथा स्वीकृति पत्र कार्य सम्पन्न भएको मितिले कम्तीमा ५ वर्षसम्मसम्म सुरक्षित राख्नुपर्नेछ।

