सुनको मूल्य निरन्तर बढ्दा पनि कर्जा लिने हिच्कीचाएनन् लगानीकर्ता, ८३ अर्ब २८ करोड पुग्यो सुनचाँदी धितो कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार सुनचाँदी धितो राखी कर्जा लिने दर बढेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँँदी कर्जास्वरुप ८३ अर्ब २८ करोड ७० लाख रुपैयाँ वितरण गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा २५ अर्ब २८ करोड ६१ लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँदी कर्जास्वरुप ५८ अर्ब ४८ करोड ९० लाख रुपैयाँ वितरण गरेको थियो ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले समग्रमा सुुनचाँदी कर्जा प्रवाहलाई निरन्तरता दिदाँ कर्जा प्रवाह समेत बढेको हो । गत आर्थिक वर्षमा वाणिज्य बैंकले सुनचाँदी कर्जास्वरुप ७६ अर्ब ९७ करोड ७० लाख रुपैयाँ वितरण गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ अर्ब ४४ करोड २० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वािणज्य बैंकले सुनचाँदी कर्जास्वरुप ५२ अर्ब ५७ करोड ५० लाख रुपैयाँ वितरण गरेको थियो ।

वाणिज्य बैंक र विकास बैंकले सुनचाँदीमा कर्जा प्रवाह वृद्धिगर्दा वित्त कम्पनीहरुले भने घटाएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको विकास बैंकले सुनचाँदी कर्जास्वरुप ५ अर्ब ४९ करोड ३० लाख रुपैयाँ वितरण गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब ५५ करोड ७० लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विकास बैंकले सुनचाँदी कर्जास्वरुप ३ अर्ब ९३ करोड ६० लाख रुपैयाँ वितरण गरेको थियो ।

गत आर्थिक वर्षमा वित्त कम्पनीहरुले सुनचाँदी कर्जास्वरुप ८ अर्ब १६ करोड रुपैयाँ वितरण गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनाा ३१ करोड ५० लाख रुपैयाँले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा वित्त कम्पनीहरुले सुनचाँदी कर्जास्वरुप १ अर्ब १३ करोड १० लाख रुपैयाँ वितरण गरेको थियो ।

बैंकहरूले सुन धितोमा राखी कर्जा प्रवाह गर्दा बजार मूल्यका आधारमा धितो मूल्यांकन गर्ने गर्छन्। बजारमा सुनको मूल्य घटबढ भइरहँदा मूल्यांकन समेत घटबढको अवस्था रहँदा यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी बढ्दै गएको बैंकले जनाएको छ। यतिबेला नेपाली बजारमा सुनको भाउ घट्ने र बढ्ने प्रक्रिया जारीे छ। सुनचाँदी धितो राखेर अधिकांश वाणिज्य बैंकले कर्जा दिँदै आए पनि सुनको भाउ बढ्दै जाँदा यसतर्फको लगानी बढाउदै लगेका छन् । सस्तो ब्याजदर तथा सहजै रुपमा पाइने भएका कारण सुनचाँदी धितोमा अधिकांशले कर्जा लिने गरेका छन्। सुन धितो राखेर कर्जा लिँदा बैंकहरूले बजार मूल्यको ५० देखि ७० प्रतिशत रकम दिने गरेकाले पनि यस्तो कर्जामा आकर्षण बढेको देखिन्छ । गत आर्थिक वर्षमा भने बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँदी धितो राखी ५८ अर्ब ४८ करोड रुपैयाँ कर्जा वितरण गरेका थिए भने पछिल्लो समय कर्जा वितरण बढेको देखिन्छ ।

सुनको मूल्यमा कीर्तिमान, किन बढ्यो मूल्य ?

पछिल्ला दिनहरुमा सुन-चाँदीको मूल्यमा तीव्र वृद्धि आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले बढेर २ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यो हालसम्म कै उच्च हो ।  चाँदीको भाउ भने प्रतितोला २ हजार ४८० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । विश्व बजारमा सुनको रेट बढेसँगै नेपालमा पनि मूल्य वृद्धि भएको हो ।

विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितताबीच बहुमूल्य धातु सुनको मूल्य नयाँ उचाइमा पुगेको छ । विश्व बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ५३४ डलरमा पुगेको छ ।  गत जनावरीदेखि हालसम्म गोल्डको रेट ३४ प्रतिशतले वृद्धि भइसकेको छ ।

सुनलाई लगानीकर्ताले सुरक्षित सम्पतिको रुपमा लिने भएकाले विश्व राजनीतिक तनाव र व्यापारिक अनिश्चितताले यसको माग बढाएको विश्लेषकहरुको भनाइ छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापक ट्यारिफ घोषणा गर्दै विश्व व्यापारमा तनाव सिर्जना गरेपछि सुनको मूल्यमा यसरी वृद्धि भएको विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार