CLI

राजनीतिक रिक्तताको स्थिति धेरै लम्बिनु हुँदैन – नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र )का बरिष्ट उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक रिक्तताको वर्तमान स्थिति धेरै लम्बिनु हुँदैन भनेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत नागरिकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।  उनले भनेका छन्  राजनीतिक परिवर्तन पश्चात सामाजिक आर्थिक रुपान्तरण र समृद्धिको क्षेत्रमा केही न केही सकारात्मक कार्यहरू भएको भएपनि राजनीतिक परिवर्तनमा अन्तर्निहित निर्देश ,समाजको आवश्यकता र जनताको अपेक्षा अनुरुप समृद्धिले गुणात्मक फड्को मार्न नसकेकोले त्यसमा सन्तुष्ट हुन नसकिने स्थिति बोध गर्दै त्यसैमा केन्द्रित भएर काम गर्नु पर्छ भन्ने निष्कर्ष पार्टीले निकालेको छ । सुशासनको हाम्रो एजेण्डा जेन जी आन्दोलनको सन्दर्भमा पूरा गर्न पायौं भने त्यो हाम्रो लागि खुसीको कुरा नै हुनेछ । हामी सचेत हुनु पर्ने कुरा यत्ति हो की प्रधानमन्त्रीको राजिनामा पछिको राजनीतिक रिक्तता र तरलताको यो स्थिति धेरै लम्बिन नपाओस् र आगामी अग्रगामी यात्रा संविधान र संविधान निर्मित संसद जस्ता संस्थाहरूको बाटोबाट नै अघि बढोस् । उनेले भनेका छन् उनको संवोधनको पुर्णपाठ

हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र )ले वर्तमान राजनीतिक परिवर्तन ,संविधान र समाजवादउन्मुख समावेशी संघीय गणतन्त्रात्मक लोकतन्त्र ,को स्थापनामा मुख्य भूमिका खेलेको ऐतिहासिक तथ्य सुस्थापित नै छ ।यो युगान्तकारी महत्त्वको राजनीतिक परिवर्तन पश्चात मुलुकको प्रमुख राष्ट्रिय कार्यभार सामाजिक न्याय सहितको समाजवादउन्मुख समृद्धि रहेकाले हाम्रो पार्टीले त्यसलाई केन्द्रबिन्दुमा राख्दै आएको छ । राजनीतिक परिवर्तन पश्चात सामाजिक आर्थिक रुपान्तरण र समृद्धिको क्षेत्रमा केही न केही सकारात्मक कार्यहरू भएको भएपनि राजनीतिक परिवर्तनमा अन्तर्निहित निर्देश ,समाजको आवश्यकता र जनताको अपेक्षा अनुरुप समृद्धिले गुणात्मक फड्को मार्न नसकेकोले त्यसमा सन्तुष्ट हुन नसकिने स्थिति बोध गर्दै त्यसैमा केन्द्रित भएर काम गर्नु पर्छ भन्ने निष्कर्ष पार्टीले निकालेको हो । त्यसका साथै दलाल पूँजीवादले राष्ट्रिय पूँजी र समग्र उत्पादक शक्तिलाई अवरुद्ध पारिरहेको स्थितिमा भ्रष्टाचार विरुद्धको सुशासन अभियान विकास तथा समृद्धिको पूर्व शर्त हो भन्ने निचोड पनि पार्टीले निकालेको हो । पछिल्लो पटक सरकारको नेतृत्व गर्दा हामीले सुशासनको क्षेत्रमा गुणात्मक महत्वको अभियान चलाएर समृद्धिको राम्रो आधार तयार पारेका थियौं र त्यसले समाजमा आशाको सञ्चार सिर्जना गरेको थियो । तर त्यही कारणबाट हाम्रो सरकार ढालियो र भ्रष्टाचार व्यापक एवं तिब्र बन्यो । हामीले भनेका थियौं ,यो प्रवृत्तिले एकातिर प्रगमनलाई आधार प्रदान गर्नेछ भने अर्कोतिर देशमा विष्फोटक संकट उत्पन्न गर्न सक्नेछ । हामीले यही मुद्दा हाम्रो देशव्यापी अभियानमा जबर्जस्त रुपमा उठायौ र जन संघर्षको विकासको तयारीको निम्ति अपील गर्दै आएका थियौं ।

यसै बिचमा जेन जी समूहले तात्कालिक रुपमा सामाजिक सञ्जाल बन्द गरिएकोले त्यसको विरोधमा र मुख्यतः भ्रष्टाचार विरोधी सुशासनको पक्षमा संघर्षको आव्हान गर्यो । हाम्रो अध्यक्ष कमरेड प्रचण्डले तत्कालै पार्टीको तर्फबाट धारणा सार्वजनिक गर्दै जेन जी को त्यो मुद्दा एवं संघर्षको समर्थन गर्नुभयो र सरकारलाई जेन जी को आन्दोलनमा बल प्रयोग नगर्न चेतावनी दिनुभयो ।तर सरकारले त्यसको उल्टो आन्दोलनकारीमाथि नरसंहारकारी दमन गरेपछि पार्टीले जागरण अभियान लाई बीचैमा स्थगित गर्दै त्यसै दिन पार्टी पदाधिकारीको आकस्मिक बैठक बसेर सरकारले गरेको नृशंस दमनको भर्त्सना गर्यो र प्र म ले त्यसको जिम्मेवारी लिँदै तत्काल राजीनामा दिनु पर्ने माग गर्यो । त्यसका साथै हाम्रो पार्टीको आव्हानमा तत्काल रास्वपा बाहेकका अन्य विपक्षी पार्टीहरूको बैठक बस्यो । उक्त बैठकले प्र .म ले तत्काल राजीनामा दिनुपर्ने ,घटनाको निष्पक्ष छानविन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्नु पर्ने ,मृतक हरुलाई शहीद घोषणा गर्ने ,घाइते को निःशुल्क उपचार गर्नु पर्ने माग राख्ने निर्णय गरियो । प्रधानमन्त्रीले तुरुन्त राजिनामा नदिएर भोलिपल्ट बिहान मात्र राजिनामा दिनुभयो । त्यसैले भोलि पल्टको आन्दोलनले उत्तेजक एवं उग्र रूप लियो र राष्ट्रिय महत्वका राज्यको सार्वजनिक भवन ,सरकारी कार्यालय, बैंक , व्यवसायिक संस्थाहरू र निजी घर र व्यक्तिहरू माथि आक्रमण भयो ,आगजनी र लुटपाट भयो ।यो आन्दोलनकारीको नेतृत्व र नियन्त्रण बाहिर को असामान्य विध्वंसकारी घटना थियो । त्यसले परिस्थितिलाई गम्भीर बनायो ।

अहिले जेन जी को प्रतिनिधि र राष्ट्रपति तथा प्रधानसेनापति बीचमा वार्ता भइरहेको छ । हाम्रो स्पष्ट दृष्टिकोण छ : राजनीतिक रिक्तताको वर्तमान स्थिति धेरै लम्बिनु हुँदैन ।तर वर्तमान संविधान ,त्यसले निर्माण गरेका संस्था हरू र विधि को प्रक्रियाबाट नै निकास खोजिनु पर्दछ । साथै वर्तमान संविधान र त्यसले संस्थागत गरेको राजनीतिक व्यवस्था ( समाजवाद उन्मुख समावेशी संघीय गणतन्त्रात्मक लोकतन्त्र )को रक्षा हुनु पर्छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली को व्यवस्था संविधान संशोधनको संवैधानिक प्रावधान अनुरुप गरौं। राजनीतिक अस्थिरताको एक प्रमुख कारकलाई सम्बोधन गर्दै संविधान र लोकतन्त्रलाई अझ उन्नत बनाउँदै जाऔ। प्रतिगमन तिर लैजान खोजिएमा त्यसको सशक्त प्रतिवाद गरी संविधान र लोकतन्त्र पक्षधर अन्य शक्तिहरू सँग पनि सहकार्य गर्दै असफल पार्नु हाम्रो जिम्मेवारी हो । सुशासनलाई प्रभावकारी रुपमा अघि बढाउने र राजनीतिक अस्थिरताको अन्त्यको लागि वैधानिक बाटोबाट संविधान संशोधन गर्न हामी अघि बढ्नेछौं ।तर प्रतिगामी खतरा प्रति सचेत रहँदै आवश्यक परे त्यसको सशक्त प्रतिवाद गर्न पनि तयार रहौं ।

प्रिय कमरेडहरु , सुशासनको हाम्रो एजेण्डा जेन जी आन्दोलनको सन्दर्भमा पूरा गर्न पायौं भने त्यो हाम्रो लागि खुसीको कुरा नै हुनेछ । हामी सचेत हुनु पर्ने कुरा यत्ति हो की प्रधानमन्त्रीको राजिनामा पछिको राजनीतिक रिक्तता र तरलताको यो स्थिति धेरै लम्बिन नपाओस् र आगामी अग्रगामी यात्रा संविधान र संविधान निर्मित संसद जस्ता संस्थाहरूको बाटोबाट नै अघि बढोस् ।

अन्य कुरा हरुको निम्ति केही समय धैर्य गरौं । पार्टी रुपान्तरण र पुनर्गठनको अभियान नयाँ शिराबाट नयाँ उचाइमा पुर्याउने गरी अघि बढ्नु पर्ने आवश्यकता झन् बढेर गएकाले त्यसका निम्ति पूर्ण प्रतिबद्धताका साथ तयार रहौं ।

 

Leave Your Comment

Related News