“जेनजी” आन्दोलनले ल्याएको परिवर्तन स्वीकार्दै पार्टीलाई नयाँ दिशामा अगाडि बढाउन कोइरालाको आह्वान

काठमाडौं । डा. शेखर कोइरालाले नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई “जेनजी” आन्दोलनले ल्याएको परिवर्तन स्वीकार्दै पार्टीलाई नयाँ दिशामा अगाडि बढाउन आह्वान गरेका छन्। आज बिहान जारी गरिएको एक सन्देशमा उनले पार्टीको नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउनुपर्नेमा जोड दिएका हुन्।

कोइरालाले देशमा उत्पन्न राजनीतिक परिस्थितिको उल्लेख गर्दै “जेनजी” आन्दोलनले नयाँ सरकार गठन गर्न बाध्य पारेको र यसलाई सतर्कतापूर्वक हेर्नुपर्ने बताएका छन्। उनले नयाँ सरकारले आम नागरिकको भरोसा जित्ने विश्वास व्यक्त गरे। यद्यपि, भाद्र २४ गते आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिको लुटपाट, आगजनी र व्यक्तिमाथि भएको पाशविक व्यवहारलाई उनले सभ्य समाजमा स्वीकार्य नहुने कार्य भनेका छन्।

यस क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीमाथि भएको हातपात र लुटपाटलाई “जघन्य अपराध” भन्दै कडा निन्दा गरेका छन्।

कोइरालाले विगतमा कहाँ चुक्यो भन्नेबारे समय खर्च नगरी भविष्यमा कसरी अगाडि बढ्ने भन्नेमा ध्यान केन्द्रित गर्न आग्रह गरे। उनले बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाजस्ता अग्रजहरूको पदचिन्हबाट शिक्षा लिँदै अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले कांग्रेसले लोकतान्त्रिक समाजवादको सिद्धान्तलाई जोगाएको भन्दै अब विगतको पश्चात्तापमा समय खेर नफाली नेपाली समाजको परिवर्तनको तीव्र चाहनालाई सम्बोधन गर्नुपर्ने बताएका छन्।

डा. कोइरालाले युवाहरूको भावनालाई सम्बोधन गर्न नसक्दा नै “जेनजी” आन्दोलनले दुई ठूला दललाई सत्ताबाट बाहिरिन बाध्य पारेको स्वीकार गरे। उनले कांग्रेसले युवाहरूको सुन्दर र समृद्ध भविष्यको चाहना पूरा गर्ने माध्यम बन्नुपर्ने बताए।

कोइरालाले अब सत्ता र पार्टीको केन्द्रमा को छ भन्दा पनि जनताको केन्द्रमा बस्ने अभियानमा लाग्नुपर्नेमा जोड दिएका छन्। उनले पार्टी “न दाजुको न भाइको, कांग्रेस कांग्रेसजनको” भन्ने नारासहित अगाडि बढ्नुपर्ने बताएका छन्। पार्टीभित्र नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउन देशव्यापी बहस र छलफल आवश्यक रहेको भन्दै दशैँलगत्तै देशव्यापी भ्रमणमा निस्कने घोषणा गरेका छन्।

भाद्र २४ गते जलाइएको विराटनगरको “कोइराला निवास” को घटनाप्रति दुख व्यक्त गर्दै उनले भौतिक संरचना खरानी भए पनि बीपीको विचार र लोकतान्त्रिक आन्दोलनको भावना कहिल्यै नमर्ने बताए।

जलेको कोइराला निवासको खरानीबाट नयाँ कांग्रेसको नवनिर्माणमा जुट्ने प्रण गर्न उनले सबैलाई आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार