काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कैदीबन्दीहरुलाई कारागार फिर्ता हुन र नियन्त्रणमा लिएका हातहतियार फिर्ता गर्न आग्रह गरेको छ ।
सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनको क्रममा कारागारबाट भागेका कैदीबन्दीहरुका कारण समाजमा त्रास र असुरक्षाको अवस्था सिर्जना भएको भन्दै आयोगले बालसुधारगृहमा रहेका व्यक्तिहरु समेत सुधारगृहबाट भागेका भनी जानकारी आएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले कैद भुक्तान गरिरहेका कैदीबन्दीहरु कारागारबाट भागी बाहिर निस्कँदा नेपालको संविधानको धारा २१ मा व्यवस्था भएको अपराध पीडितको हक, अपराध पीडित संरक्षण ऐन, २०७५ तथा अपराध पीडितको अधिकार सम्बन्धी घोषणापत्र, १९८५ द्वारा प्रदत्त अपराध पीडितको न्यायको अधिकार हनन् हुने जनाएको छ ।
‘कारागारबाट भागेका कैदीबन्दीहरुका कारण विशेषगरी महिला, बालबालिका, निर्णयकर्ता एवम् अपराध पीडित र तिनको परिवारमा मनोवैज्ञानिक असर परेको पाइएको छ । बाहिर निस्किएका केही कैदीबन्दीहरुलाई सुरक्षा निकायको पहलमा नियन्त्रणमा लिइएको छ भने अधिकांश कैदीबन्दीहरु अझै कारागार प्रशासनको सम्पर्कमा नआएकोे पाइएको छ,’ आयोगले भनेको छ ।
आयोगले सुरक्षा निकायले कैदीबन्दीहरुको खोजी कार्यलाई तीव्रता दिन र भागेका कैदीबन्दीहरुलाई समेत कानुनी शासनको सम्मान गर्दै कारागार फर्किन आग्रह गरेको छ ।

