काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार अर्थात् अर्थ मन्त्रालयले आगामी कार्यदिशाका लागि बजेट स्रोत खोज्न कार्यदल निर्माण गरेको छ ।
जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण र आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि बजेटको स्रोत खोज्न मन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको हो।
कार्यदलमा मन्त्रालय अन्तर्गत बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री रहेका छन्।
अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार अहिलेका बजेटमा परेका केही योजना र कार्यक्रम कटौती गरेर कसरी स्रोत व्यवस्थापन गर्न सकिन्छ भनेर आन्तरिक अध्ययनका लागि कार्यदल गठन भएको बताए।
‘भौतिक संरचनाको पुननिर्माणको आवश्यक रहेको छ । चुनावको लागि पनि स्रोतको अवाश्यक पर्छ त्यसलाई व्यवस्थापन गर्ने उद्देश्यले कार्यदल गठन गरिएको हो,’ उनले भने,‘ यसले खर्च स्रोत व्यवस्थापनमा अध्ययन गर्नेछ जसको निम्ति बजेटमा भएका योजनाहरु कटौतीको सम्भावना समेत रहेको छ ।’
सोमबार कार्यभार सम्हाल्दै नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनालले चालू आर्थिक वर्ष २०८२/८३ को बजेटमा राजनीतिक दबाबमा बजेटमा परेका, पूर्वतयारी नसकिएका, टुक्रे योजना तथा कार्यक्रम कटौती गरिने बताएका थिए।
मन्त्री खनालले सरकारले पूरक बजेट नल्याउने र अहिलेको बजेटमा परेका योजना तथा कार्यक्रम कटौतीबाटै निर्वाचन र पुनःनिर्माणका लागि करिब रु एक खर्ब बराबर स्रोत जुटाउन सकिने बताएका छन्।

