काठमाडौं । विश्व बजारमा सुनको भाउ प्रतिऔंस ३ हजार ६९५ डलर (करिब ४ हजार)मा कारोबार हुँदैछ । यो हालसम्मकै उच्च हो । त्यसैगरी चाँदीको भाउमा पनि वृद्धि कायमै छ । चाँदीको मूल्य १४ वर्षयताकै उच्च विन्दुमा छ । विश्व बजारमा चाँदीको भाउ प्रतिऔंस ४२.७२ डलरमा कारोबार हुँदैछ ।
नेपाली बजारमा पनि सुन र चाँदीको भाउमा वृद्धि देखिएको छ । सुनको मूल्य मंगलबार प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँ र चाँदी २५ सय ९५ रुपैयाँमा कारोबार हुँदैछ । विश्व बजारमा भाउ बढेसँगै नेपालमा पनि यी धातुहरुको मूल्य बढेको हो । यी बहुमूल्य धातुको ‘रेट’ पछिल्लो समय दैनिक नयाँ विन्दुमा कारोबार हुँदै गरेको देख्न सकिन्छ ।
यसरी मूल्य दैनिक बढ्नुमा विश्वव्यापी असुरक्षा, उच्च मुद्रास्फीति, केन्द्रीय बैंकको खरिद र लगानीकर्ताको मनोविज्ञान जस्ता कारकहरुको संयुक्त परिणाम हो । यस्ता परिस्थितिमा सुन र चाँदी सुरक्षित तथा लाभदायक सम्पत्ति बनेका छन्, जसले गर्दा मूल्य निकट भविष्यमा पनि उच्च नै रहने लगानीकर्ताहरु अनुमान छ ।
विश्व अर्थतन्त्रले विभिन्न उतारचढाव व्यहोर्दै आएको छ । यस्तो अवस्थामा सुन र चाँदीजस्ता बहुमूल्य धातुको मूल्य निरन्तर वृद्धि हुँदै गएको हो । यसलाई बुझ्नका लागि राजनीतिक, आर्थिक, मौद्रिक नीतिगत तथा मनोवैज्ञानिक कारणहरुलाई छुट्टाछुट्टै विश्लेषण गर्न पनि आवश्यक छ ।
पहिलो, विश्वमा भइरहेका युद्ध, द्वन्द्व र भू–राजनीतिक तनावहरुले लगानीकर्तालाई असुरक्षित बनाएको छ । रुस–युक्रेन युद्ध, मध्यपूर्वमा जारी अस्थिरता तथा अमेरिका–चीनबीचको व्यापार द्वन्द्वले विश्व बजारमा विश्वास घटाएको छ ।
यस्तो बेला लगानीकर्ताले सुरक्षित सम्पत्तिको खोजी गर्छन्, जसमा सुन र चाँदी प्रमुख हुन्छन् । परिणामस्वरुप यी धातुको माग बढ्दै मूल्य पनि उकालो लागेको छ । त्यस्तै, हालका वर्षहरुमा चीन, भारत, रुस लगायतका केन्द्रीय बैंकहरुले ठूलो परिमाणमा सुन किनिरहेका छन् । यसले सुनलाई मात्र होइन, चाँदीलाई पनि आकर्षक लगानी विकल्पको रुपमा प्रस्तुत गरेको छ ।
केन्द्रीय बैंकहरुले आफ्नो विदेशी मुद्रा भण्डारमा विविधता ल्याउन सुनलाई प्राथमिकता दिन थालेका कारण अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको छ । साथै, सुन–चाँदी बजारमा प्राविधिक विश्लेषणले पनि ठूलो भूमिका खेल्छ ।
RSI, Moving Average, MACD जस्ता सूचकहरुले लगातार बुलिश ट्रेन्ड देखाउँदा लगानीकर्ताले ठूलो मात्रामा खरिद गर्ने मनोविज्ञान बनाउँछन् । यसले दैनिक मूल्यमा थप दबाब सिर्जना गर्छ । अमेरिकी सर्वेक्षणले उपभोक्ता अपेक्षा, ब्याजदर तथा डलरको मूल्य घटबढ जस्ता आर्थिक सूचकहरुले सुनको मूल्यमा असर गर्छन् भन्ने कुरा देखाएको छ ।
पछिल्लो समय विश्व शक्ति राष्ट्रहरुले सुन भण्डार बढाएका छन् । जसमध्ये २५ देशसँग मात्रै २९ हजार ६६२ टन सुन सञ्चित रहेको छ । यसमा सबैभन्दा धेरै अमेरिकासँग ८ हजार १३३ टन सुन सञ्चित रहेको ट्रेडिङ इकोनोमिक्सले जनाएको छ ।
दोस्रोमा, जर्मनीसँग ३ हजार ३५० टन, इटालीसँग २ हजार ४५२, फ्रान्ससँग २ हजार ४३७ टन, रुससँग २ हजार ३३०, चीनसँग २ हजार २९९ र स्विजरल्यान्डसँग १ हजार ४० टन सुन सञ्चित रहेको छ । ७ मुलुकसँग १ हजार टन भन्दा धेरै सुन भण्डारण गरिएको देखिएको छ ।


