काठमाडौं । सञ्चालनमा रहेका २० वटा बैंकहरुले चालु आर्थिक वर्षको पहिलो महिना अर्थात, साउनमा ८ अर्ब ३८ करोड २९ लाख रुपैयाँ नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ८.६४५ प्रतिशत कम हो । आव २०८१-८२ मा बैंकहरुले ९ अर्ब १७ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।
बैंकहरुको नाफा घट्नु कारण खराब कर्जामा भएको वृद्धि नै प्रमुख कारण मानिएको छ । खराब कर्जा बढ्दा बैंकहरुको थुप्रै रकम प्रोभिजनका लागि छुट्याउनु पर्छ । आम्दानीको ठूलो हिस्सा प्रभिजनलाई छुट्याउँदा नाफामा दबाब परेको हो ।
त्यसमाथि, अहिले बैंकिङ प्रणालीमा अधिक तरलता देखिएको छ । कर्जा प्रवाह तुलनात्मक रुपमा कम छ । त्यसैले व्यापारमा सोचे जस्तो वृद्धि छैन । जसकारण नाफामा पनि केही दबाब परेको बैंकरहरु बताउँछन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउन महिनामा ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै ७८ करोड ४५ लाख नाफा आर्जन गरेको छ । यो गत वर्षको साउनको भन्दा १२.०९ प्रतिशत कम हो । गत वर्ष बैंकले ८९ करोड २४ लाख नाफा आर्जन गरेको थियो ।
दोस्रोमा, नबिलले ७१ करोड ६४ लाख, नेपाल इन्भेष्टमेन्ट मेगाले ६३ करोड ४२ लाख रुपैयाँ नाफा कमाएका छन् । सबैभन्दा कम कृषि विकासले जम्मा ३७ लाख नाफा आर्जन गरेको छ । तथ्यांक अनुसार ६ वटा बैंकले ५० करोड भन्दा धेरै नाफा कमाएका छन् । २० मध्ये ११ वटाको नाफा गत वर्षको भन्दा कम छ ।


