काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको गैर बैंकिङ सम्पत्ति गएको साउन महिनासम्म ५० अर्ब ५६ करोड ३० लाख रुपैयाँ पुगेको छ । गत वर्षको साउन, २०८१ मा यस्तो सम्पत्ति ३६ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो । खराब कर्जा बढेसँगै बैंकहरु एनबीए बढेको हो । बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा ‘डिफल्ट’ भएपछि कर्जा असुलीका लागि लिलाम बिक्री नभए संस्था आफैँले सकार्नुपर्छ । यसरी सकारिएको सम्पत्ति नै बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति हो ।
नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको गैर बैंकिङ सम्पत्ति ४२ अर्ब ८० करोड रुपैयाँ रहेको छ । गत वर्षको असारसम्म यस्तो सम्पत्ति ३१ करोड ३६ करोड थियो । त्यस्तै, विकास बैंकको एनबीए ४ अर्ब ६८ करोड र फाइनान्स कम्पनीहरुको गैर बैंकिङ सम्पत्ति ३ अर्ब ७ करोड देखिएको छ । उत वर्ष विकास बैंक र फाइनान्स कम्पनीहरुको गैर बैंकिङ सम्पत्ति क्रमशः ३ अर्ब ५९ करोड र १ अर्ब ९६ करोड रुपैयाँ रहेको थियो । यस्तो सम्पत्ति गत वर्षको भन्दा बढेको छ ।
तथ्यांक अनुसार, ग्लोबल आइएमई बैंकको गैर बैंकिङ सम्पत्ति ६ अर्ब ५ करोड रुपैयाँ रहेको छ । जुन बैंकहरुमध्ये सबैभन्दा धेरै हो । दोस्रोमा, हिमालयन बैंकको एनपीए ५ अर्ब ८२ करोड, एनआइसी एसियाको ४ अर्ब ५९ करोड, प्राइम कर्मर्सियल बैंकको ३ अर्ब ९१ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ अर्ब ८२ करोड। नबिल बैंकको ३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । ६ वटा बैंकको गैर बैंकिङ सम्पत्ति ३ अर्ब भन्दा धेरै छ ।
त्यसैगरी, कुमारी बैंकको २ अर्ब ५२ करोड, लक्ष्मी सनराइजको २ अर्ब २२ करोड, एनएमबिको १ अर्ब ७९ करोड, प्रभुको १ अर्ब ६१ करोड, कृषि विकासको १ अर्ब ३१ करोड, सिजिजन्सको १ अर्ब २६ करोड र सानिमा बैंकको एनबीए १ अर्ब रुपैयाँ रहेको छ । १ अर्ब भन्दा कम गैर बैंकिङ सम्पत्ति भएका बैंकहरुको संख्या ७ वटा छ । नेपाल एसबिआई बैंकको एनबीए ९४ करोड ७६ लाख, सिद्धार्थ ७७ करोड २० लाख, माछापुच्छ्रे बैंकको ६० करोड, एभरेष्टको ५६ करोड ४३ लाख, र राष्ट्रिय वाणिज्य बैंकको २५ करोड ६७ लाख एनबीए छ ।
बैंक वा वित्तीय संस्थाले दिएको ऋण असुल गर्न नसकेर धितो सम्पत्ति अधिग्रहण गरी आफ्नो नाममा ल्याएको सम्पत्तिलाई गैर बैंकिङ सम्पत्ति जनाइन्छ । सामान्यतया बैंकको प्रमुख काम भनेको जनता वा व्यवसायलाई ऋण प्रवाह गर्नु हो । तर, ऋण लिने व्यक्तिले समयमा किस्ता तिर्न नसकेमा बैंकले धितो राखेको जग्गा, घर, वा अन्य सम्पत्ति लिलामीमा गर्नुपर्छ । लिलामीमा पनि बिक्री नभएपछि उक्त सम्पति आफैले सकार्नु पर्छ । त्यही सम्पत्तिहरु नै गैर बैंकिङ सम्पत्ति हुन् । पछिल्लो समय नेपालमा गैर बैंकिङ सम्पत्ति तीव्र रुपमा बढ्दो क्रममा छ, जसका विभिन्न कारणहरु रहेका छन् ।
ऋण असुलीमा समस्या गैर बैंकिङ सम्पत्ति बढ्नुको मुख्य कारण हो। आर्थिक गतिविधि सुस्त हुँदा व्यापारी तथा उद्योगहरुले आर्जन गर्न सक्दैनन्, जसले गर्दा तिनीहरुले समयमा ऋण तिर्न सक्दैनन् । आर्थिक मन्दी र सुस्तता पनि गैर बैंकिङ सम्पत्ति बढ्नुको अर्को कारण हो। बजारमा माग कम हुनु, उत्पादन घट्नु, निर्यातमा अवरोध आउनु जस्ता कारणले व्यवसाय घाटामा पर्छन्।
रियल स्टेट बजारको सुस्तता पनि ध्यान दिनुपर्ने विषय हो। प्रायः ऋणको धितो जग्गा वा घर हुन्छ। तर, बजारमा खरिदकर्ता नहुँदा ऋणधारीहरुले आफ्नो सम्पत्ति बेचेर ऋण तिर्न सक्दैनन् । यसले गर्दा बैंकको नाममा गैर बैंकिङ सम्पत्ति थपिन्छ । यसरी हेर्दा गैर बैंकिङ सम्पत्ति बढ्नु भनेको समग्र अर्थतन्त्रमा समस्या गहिरिएको सूचक हो ।
गैर बैंकिङ सम्पत्ति बढ्नु केवल बैंकका लागि मात्र होइन, सम्पूर्ण अर्थतन्त्रका लागि चिन्ताजनक विषय हो । यसले बैंकको नाफा, लगानीकर्ताको विश्वास, र समग्र वित्तीय स्थायित्वमा नकारात्मक असर पार्छ । त्यसैले यसलाई नियन्त्रण गर्न सरकार, नियामक निकाय, र व्यवसायहरुले सामूहिक प्रयास गर्न आवश्यक छ ।

