काठमाडौं । जेनजी प्रदर्शनका कारण सार्वजनिक हुन नसकेका एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार सार्वजनिक भएका छन् ।एमाले नेता महेश बस्नेतका अनुसार विगत आठ दिन देखि भक्तपुर गुन्डुमा बस्दै आएका ओली मंगलबार सार्वजनिक भएका हुन् । यो सँगै सुरक्षाकर्मीको सुुरक्षाबाट पछिल्लो समय उनी गुन्डु पुगेका थिए ।
बस्नेतले सामाजिक सञ्जालमार्फत् ओली सार्वजनिक भएको जानकारी दिएका छन् । ओलीसँग एमालेका नेता तथा कार्यकर्ता समेत देखिन्छन् ।
ओलीको गुन्डुको बसाइ आज आठौँ दिन हो। विगत आठ दिनदेखि यहाँ असामान्य चहलपहल, भेटघाट र उत्साहको माहोल छ। वास्तवमै, कसैले नचाहँदैमा कसैको लोकप्रियता वा जनसम्बन्ध घट्दैन जनताले देखाएको आत्मीयता नै वास्तविक प्रमाण हो बस्नेतले भनेका छन् ।
उनले अघि भनेका छन्, गुन्डुमा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिले यस क्षेत्रको गौरव र महत्त्व अझै बढाएको छ। यहाँका स्थानीय बासिन्दामा स्वागत र सत्कारको संस्कार गहिरो परम्परा छ, जुन अहिले पनि निरन्तर देखिन्छ ।
उनले मिडिया तथा मिडियाकर्मीले गरेको दुष्प्रचारले ओलीलाई असर नपुग्ने दाबी गरेका छन् ।
‘ जनआस्था जस्ता पत्रिका र सम्पादक किशोर श्रेष्ठमार्फत चलाएको भ्रामक प्रचार र न्यूज २४ टिभीका राजिव खत्रीहरूले गरेका स्ट्यानबाजीपूर्ण दुषप्रचारले ओलीको व्यक्तित्व वा मान–सम्मानमा कुनै असर पुर्याउन सक्दैन , बस्नेतले भने।
ओली गुन्डुमा जाँदा भक्तपुरका स्थानीयले विरोध गरेका थिए ।
ओली जेनजी आन्दोलनको पहिलो दिन देखिएका थिए भने त्यसपछि सार्वजनिक हुन सकेका थिएनन् । २३ गते सुरु भएको विद्रोहमा गोली चलेपछि २४ गते आन्दोलनले ठूलो रुप लिएको थियो । प्रदर्शनकारी तोडफोड र आगजनीमा उत्रिएपछि ठूलो मानवीय र भौतिक तथा आर्थिक क्षति भएको थियो । त्यसपछि मात्रै सेनाको दबाबमा उनले राजीनामा दिएका थिए ।
ओली नेतृत्वको सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । प्रतिनिधि सभा विघटन भइसकेको छ । नयाँ सरकारले २१ फागुनमा चुनावको मिति तोकेको छ ।

