CLI

‘३ महिनाभित्र परीक्षाफल प्रकाशित गर्नैपर्ने’ : अनुदान रोक्का गर्ने मन्त्री पुनकाे चेतावनी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आज मन्त्रालयमै काम अघि बढाउन तीन स्पष्ट र तत्काल लागु हुने कदम घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका ती निर्देशनलाई विद्यार्थी, शिक्षक र शैक्षिक संस्थामाथि प्रत्यक्ष असर पार्ने नीतिगत पहलको रूपमा हेरिएको छ।

विद्यालयमा कम्प्युटर शिक्षक अनिवार्य

मन्त्री पुनका अनुसार नेपालका सामुदायिक माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षा नपाएका विद्यार्थीहरू पछाडि नपरोस् भन्ने उद्देश्यले अब प्रत्येक विद्यालयमा कम्तीमा एक कम्प्युटर शिक्षकको दरबन्दी थपिनेछ। यस कदमले सूचना–प्रविधि शिक्षा पहुँचविहीन ग्रामीण क्षेत्रका विद्यार्थीलाई ठूलो फाइदा पुग्ने अपेक्षा गरिएको छ।

परीक्षाफल अब ढिलो हुँदैन

उनले हालका केही विश्वविद्यालयहरूले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिना देखि १ वर्षसम्म ढिलाइ गर्ने प्रवृत्तिलाई “विद्यार्थीमाथि अन्याय” भन्दै रोक्ने घोषणा गरेका छन्। पुनका अनुसार अब विश्वविद्यालयले बढीमा ३ महिनाभित्र परीक्षाफल प्रकाशित गर्नैपर्ने हुन्छ। समयसीमा उल्लंघन गर्ने संस्थाको अनुदान रोक्का गरिनेछ। उनले उदाहरण दिँदै भने, “राष्ट्रिय परीक्षा बोर्डले ५ लाख भन्दा बढी विद्यार्थीको कक्षा १२ को नतिजा ३ महिनामै निकाल्न सक्छ भने, विश्वविद्यालयले किन सक्दैन ?”

त्रिवि परिसर सुन्दर बगैँचामा रूपान्तरण

तेस्रो कदमका रूपमा मन्त्री पुनले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको विशाल परिसरमा रहेका झाडी सफा गरेर, ठूला रुख नकटाई बगैँचा र पदमार्ग निर्माण गर्ने योजना अघि सारेका छन्। यसले त्रिवि क्याम्पसलाई आधुनिक, आकर्षक र वातावरणमैत्री शैक्षिक केन्द्रको रूपमा बदल्ने उनको दाबी छ।

Leave Your Comment

Related News