तीन समूहले बहिष्कार गरे जेन जी आन्दोलनको वार्ता टोली

काठमाडौं । तीन समूहले जेन जी आन्दोलनको वार्ता टोलीलाई बहिष्कार गर्ने निर्णय गरेका छन् ।

Indigenous Gen Z Collective, Gen Z Movement Alliance र howtodeshbikas नामक समूहले वार्ता टोलीलाई बहिष्कार गरेका हुन् । उनीहरूले लोकतन्त्रविरोधी अभिव्यक्तिहरू दिँदै आएकाको कारण देखाउँदै वार्ता टोलीलाई बहिष्कार गरेको बताएका छन् ।

ती समूहकाअनुसार वार्तामा संलग्न केही व्यक्तिहरू अघिल्ला पटकमा संघीयता, गणतन्त्र र लोकतन्त्रविरोधी अभिव्यक्तिहरू दिँदै आएका छन्, जसका कारण उनीहरूप्रति विश्वास नरहेको जनाइएको छ ।

साथै, यही असोज ८ र ९ गतेको बैठकमा शान्ति सुरक्षाका सन्दर्भमा असहज र अपारदर्शी ढंगले कार्य भएको भन्दै समावेशी सहभागिता सुनिश्चित नगरेको ती समूहले बताएका छन् ।

‘विशेषतः दलित, महिला, अल्पसंख्यक, आदिवासी जनजाति लगायत उत्पीडित समुदायहरूको आवाज प्रतिनिधित्व नगरेको,’ तीन समूहले वार्ता टोलीलाई लेखेको पत्रमा भनिएको छ ।

समूहका अनुसार जेन जीको नेतृत्वमा भएको जनआन्दोलनको मागप्रति गम्भीर रूपमा ध्यान नदिइएको र राज्यले फरक विचार राख्ने समुदायहरूलाई अझै पनि उपेक्षा गरिरहेको जनाइएको छ ।

उनीहरूले भनेका छन्, ‘शक्तिकेन्द्र नजिक रहेका केही गुटहरूको स्वार्थअनुकूल वार्ता टोली गठन गरिएको छ । वार्ता टोली गठनका आधार र मापदण्ड नै अलोकतान्त्रिक छन् ।’

ती समूहले सरोकारवाला समुदायसँग पर्याप्त परामर्श नगरी एकपक्षीय ढंगले टोली गठन गर्नु गलत भएको जिकिर गर्दै तत्काल वार्ता प्रक्रिया पुनःसंरचना गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार