काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदुत MAEDA Toru बीच असोज १२ गते अर्थ मन्त्रालय, सिंहदरबारमा शिष्टाचार भेट सम्पन्न भएको छ । उक्त अवसरमा अर्थमन्त्री खनाल र जापानी राजदुत बीच नेपालको हालको परिवर्तित अवस्था, नेपाल-जापान बीचको ऐतिहासिक सम्बन्ध र जापानले नेपालको आर्थिक सामाजिक विकासमा पुर्याइरहेको सहयोगका विषयमा छलफल भएको छ ।
उक्त छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको र यस अवधिमा पुनर्निर्माण लगायत आर्थिक सामाजिक विकासका कार्यहरुलाई निरन्तरता दिइने बताए । उक्त अवसरमा निर्माणाधीन नागढुंगा टनेल मार्ग परियोजना, तनहुँ जलविद्युत आयोजना लगायतका सहयोगका क्षेत्रहरु र निकट भविष्यमा सम्झौता हुन गइरहेको Koteshwor Intersection Improvement Project र Programme for Emergency Rehabilitation of Sindhuli Road (Flood Affected) समेतका विविध विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।
उक्त वैठकमा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखाका सह-सचिव धनिराम शर्माको समेत उपस्थिति रहेको थियो ।

