CLI

उद्धार उडान मार्फत भरहवाबाट १५७ जना यात्रु काठमाडौं आए

काठमाडौं ।  अविरल वर्षा र बाढी पहिरोका कारण भैरहवामा अलपत्र परेका यात्रुहरू नेपाल वायुसेवा निगमको विशेष उद्धार उडानमार्फत काठमाडौँ आइपुगेका छन् ।

दसैँ बिदा र विभिन्न कामका लागि भैरहवा पुगेका यात्रुहरू बदलिएको मौसमका कारण सडक र उडान अवरुद्ध हुँदा रोकिएका थिए। सोही कारण उनीहरूको सहजताका लागि सरकारले उद्धार उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता श्याम किशोर शाहले दिउँसो ३ः४५ बजे काठमाडौँबाट भैरहवामा अवतरण गरेको नेपाल एयरलाइन्सको न्यारो बडी ए–३२० विमानले ७६ जना यात्रु लिएर आएको बताए। सोही विमानले १५७ जना यात्रु बोकेर राति काठमाडौँ फर्किएको उनको भनाइ छ ।

भैरहवाबाट काठमाडौँ आएका एक यात्रुले सरकारको कार्य अत्यन्त प्रशंसनीय भएको बताए । सरकारले उद्धार उडानमा अशक्त, वृद्ध वृद्धा, बिरामी, वैदेशिक रोजगारीमा जानुपर्ने र अत्यावश्यक यात्रुहरूलाई प्राथमिकता दिइएको प्रवक्ता शाहले जानकारी दिए । भाडादर काठमाडौँबाट भैरहवाका लागि रु. ५,००० र भैरहवाबाट काठमाडौँका लागि रु. ७,००० तोकिएको थियो ।

Leave Your Comment

Related News