काठमाडौं । नेपाल सरकार र संघीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोग सम्बन्धी दुई महत्वपूर्ण सम्झौताहरुमा आज हस्ताक्षर सम्पन्न भएको छ। यी सम्झौताहरुले नेपालको उर्जा, स्वास्थ्य, कृषि, शासन तथा समावेशी विकासका प्राथमिकतालाई सहायता गर्ने लक्ष्य लिएको छ ।
नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा र जर्मन सरकारको तर्फबाट काठमाडौँस्थित नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो भोल्जले हस्ताक्षर गरेका छन् ।
वित्तीय सहयोग सम्झौताअन्तर्गत जर्मन सरकारले “पावर डिस्ट्रीब्युसन स्ट्रेन्थेनिङ कार्यक्रम (PoDiSp)” मा सहयोगस्वरूप २० मिलियन युरो सम्मको प्रतिबद्धता जनाएको छ ।
यस परियोजना नेपालको विद्युतीय वितरण प्रणालीको स्तरोन्नति र सुदृढीकरणमा केन्द्रित हुनेछ, जसले देशभरि भरपर्दो र प्रभावकारी विद्युत सेवा सुनिश्चित गर्नेछ। यो परियोजना नेपाल विद्युत प्राधिकरण (NEA) मार्फत कार्यान्वयन गरिनेछ र त्यसका लागि नेपाल विद्युत प्राधिकरण (NEA) र जर्मन विकास बैंक KfW बीच कार्यान्वयन सम्झौता पनि हुनेछ ।
यो सम्झौताको कार्यान्वयन पाँच वर्ष भित्र अर्थात 5 सेप्टेम्बर 2029 सम्ममा सम्पन्न हुनुपर्ने उल्लेख गरिएको छ। प्राविधिक सहयोग सम्झौता सन् १९७४ मा हस्ताक्षर गरिएको दीर्घकालीन ढाँचागत सम्झौता (Framework Agreement) र सन् २००९ मा संशोधित सम्झौतामा आधारित रहेको छ। यसअन्तर्गत २१ मिलियन युरो सम्मको अनुमानित प्रतिबद्धता सहित जर्मनीले निम्न क्षेत्रमा सहयोग पुर्याउनेछ:
- स्वास्थ्य क्षेत्रमा, राष्ट्रिय लैङ्गिक समानता तथा सामाजिक समावेशी रणनीति (S2GESI) का लागि निरन्तर समर्थन प्रदान गर्दै स्वास्थ्य प्रणालीमा गुणस्तरीय पूर्वाधारलाई थप स्तरीय बनाउन।
- कृषि तथा निजी क्षेत्र विकासमा, समावेशी र जलवायु-प्रतिकारशील आर्थिक विकासलाई प्रवर्द्धन गर्ने GRAPE(Green Resilient Agricultural-centered Private Sector Economic Development) कार्यक्रम।
- शासन क्षेत्रमा, राजस्व क्षेत्र सुधारमा आधारित परियोजना अघि बढाइनेछ जसले दिगो विकासमा योगदान पुर्याउने।
- थप रूपमा, “अध्ययन तथा विज्ञ कोष (Studies and Experts Fund)” मार्फत सल्लाहकार तथा प्राविधिक सहायता प्रदान।
यस प्राविधिक सहायता सम्झौताको कार्यान्वयन समेत पाँच वर्ष भित्र अर्थात 5 सेप्टेम्बर 2029 सम्ममा सम्पन्न हुने उल्लेख गरिएको छ।
अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले जर्मनीको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै यी सम्झौताहरूले नेपाल-जर्मनी सम्बन्धको प्रगाढता र स्थायित्वलाई प्रतिबिम्बित गर्ने र समावेशी तथा दिगो विकासप्रतिको साझा प्रतिबद्धता दर्शाउने बताए । उनले जर्मन सरकार तथा जर्मन जनतालाई नेपालको सामाजिक तथा आर्थिक विकासमा पुर्याएको दीर्घकालीन सहकार्य र महत्वपूर्ण योगदानप्रति हार्दिक धन्यवाद ब्यक्त गरे । सोहि कार्यक्रममा जर्मन संघीय गणतन्त्रका राजदूत उडो भोल्जले यो नयाँ प्रतिबद्धताले ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रमा नेपाल र नेपाली जनतासँगको सहकार्यलाई अझ प्रगाढ बनाएको बताए ।

