सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत

पर्वत । पटक–पटक म्याद थप गर्दा पनि पाँच वर्षसम्म सडक आयोजना सम्पन्न नगर्ने ठेकेदारको जमानत जफत गरिएको छ । पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधिन लुंखुदेउराली-मिलनचोक- बालाकोट–होश्राङदी सडक निर्माणको जिम्मा पाएको पिआर/ओमबुद्ध जेभी वसुन्धरा काठमाडौंको मोबिलाइजेसन पेस्की बापतको बैंक जमानत पूर्वाधार विकास कार्यालय पर्वतले जफत गरी असुल गरेको हो ।

१८ महिनाभित्र काम सम्पन्न गर्नेगरी १८ जेठ २०७८ मा सम्झौता भएको सडक १७ फागुन २०७९ मा सम्पन्न गर्नुपर्ने भए पनि निर्माण व्यावसायीले सडक चक्ल्याउनेबाहेक अन्य काम गरेको थिएन । पटक–पटक म्याद थप गरी २९ चैन २०८१ सम्मको समय दिँदा पनि काममा नफर्किएपछि जमानत नै जफत गर्नुपरेको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले जानकारी दिए ।

कुल ११ करोड २२ लाख ६६ हजार रुपैयाँको लागतमा निर्माण हुने झण्डै ६ किलोमिटर लामो सडकको निर्धारित समयसम्म ३५ प्रतिशत मात्र भौतिक प्रगति भएको थियो भने वित्तीय प्रगतिसमेत ३५ प्रतिशत नै भएको थियो । पटक–पटक काममा फर्किन मौखिक र लिखित रुपमा पत्राचार गरिएको भए पनि निर्माण व्यवसायील आनाकानी गरेपछि अब ठेक्का नै तोड्ने तायारी भएको छ ।

सडक निर्माण सुरु गरेर निर्माण व्यवसायी नै सम्पर्कविहीन भएपछि उक्त सडक झनै अस्तव्यस्त बनेको छ । अहिले यो सडकमा सवारीसाधन सञ्चालन गर्न निकै सास्ती रहेको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए ।

निर्माण सुरु भएपछि निर्माण व्यावसायीले चार करोड १३ लाख रुपैयाँ भुक्तानी लगेको थियो । जमानत जफत भएपछि पनि निर्माण व्यावसायी सम्पर्कमा नआएकोले अन्य कारबाही प्रक्रियासमेत अघि बढाउन थालिएको छ ।

निर्माण व्यावसायीले नाली व्यवस्थापन नगरी भत्काएर मात्र छाडेका कारण वडा नंं. ५ को काफलडाँडामा रहेको गाउँपालिकाको कार्यालय, वालाकोट र होश्राङदीका बासिन्दालाई दैनिक आउजाउ गर्न समस्या भएको अध्यक्ष भुसालले बताए । गण्डकी प्रदेश सरकारको रणनीतिक सडक आयोजनाअन्तर्गतको यो सडक अलपत्र पार्ने ठेकेदार कम्पनीलाई कारबाही गर्नुपर्ने स्थानीयवासीको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार