काठमाडौं । जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्मानमा चौधरी ग्रुपले समवेदना र उच्च सम्मान व्यक्त गर्दै प्रत्येक सहिद परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ।
चौधरी ग्रुपले बुधबार विज्ञप्तिमार्फत आन्दोलनका क्रममा आफ्नो निजी निवास, कार्यालय, शोरूम र कारखानामा भएको ठूलो क्षति र विध्वंसले गहिरो पीडा दिएको उल्लेख गर्दै पनि पुनःनिर्माणको यात्रामा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
विज्ञप्तिमा भनिएको छ,’यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो। हामी सँगै उभिनेछौँ, पुनःनिर्माण गर्नेछौँ र आशा, सहानुभूति तथा सम्मानसहित देशको उज्ज्वल भविष्य निर्माण गर्नेछौँ,’ चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भनेका छन् ।
चौधरी ग्रुपले आफ्नो टिममार्फत सम्पूर्ण सहिद परिवारसँग सम्पर्क गरिरहेको र सो प्रक्रियामा सहयोग गर्नका लागि इच्छुक व्यक्तिहरूले कम्पनीका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई सम्पर्क गर्न सक्ने जनाएको छ।
बुधबार जारी गरिएको विज्ञप्ति
जेनजी आन्दोलनका शहिदप्रति चौधरी ग्रुपको तर्फबाट हार्दिक श्रध्दाञ्जलि एवं परिवारजनप्रति गहिरो समवेदनाका साथ उच्च सम्मान ब्यक्त गर्दछौँ।
उक्त आन्दोलनका क्रममा हाम्रो निजी निवास, कार्यालय, शोरूम र कारखानाहरूमा भएको ठूलो क्षति र विध्वंसले हामीलाई गहिरो पीडा दिएको छ।
यद्यपि, यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुनःनिर्माणको यात्रामा अघि बढेका छौँ। यस कठिन समयमा चौधरी ग्रुप शहिद परिवारप्रति उच्च सम्मान ब्यक्त गर्न निम्न अनुसारको प्रतिबद्धता व्यक्त गर्न चाहन्छ—
जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौँ।
यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो।
हामी सँगै उभिनेछौँ, पुनःनिर्माण गर्नेछौँ, आशा, सहानुभूति र सम्मानसहित यो देशको सून्दर र उज्ज्वल भविष्य निर्माण गर्नेछौँ ।
हाम्रो टिमले समपुर्ण शहिद परिवारलाई सम्पर्क गर्दैछौं, यद्यपि यसका लागि यहाँहरूले चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन बिभाग प्रमुख मधुसूदन पौड्याललाई मोबाइल नम्बर ९८५११२२४००० मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

