राष्ट्रिय वाणिज्य बैंकको शाखा लुटपाटको आरोपमा २ जना पक्राउ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते साँझ बानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा पनि तोडफोड र आगजनी भएको थियो । सोही क्रममा सो शाखाबाट सवा पाँच करोड नगद र १७ हजार नौ सय ४५ ग्राम अर्थात् करिब १८ किलो सुनसमेत लुटिएको थियो ।

लुटपाटमा संलग्न आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले दीपक श्रेष्ठ र नरेशकुमार यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । लुटपाटमा को–को संलग्न रहेको भन्ने आफूहरुसँग नभएको जानकारी उनीहरुले प्रहरीलाई दिएको परिसरले जानकारी दिएको छ ।

घटना भएको दिन साँझैदेखि सामाजिक सञ्जालमा आएका भिडिओमा केही मानिसहरू बैंकबाट रकम लिएर निस्किँदै गरेको देखिएको थियो । ठूलो रकम र सुन लुटिएको भएपनि बरामद नभइसकेको परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार