काठमाडौं । ३२ वर्षीय युक्रेनी क्रिप्टो इन्फ्लुएन्सर कोन्स्टान्टिन गालिश (Konstantin Galish) आफ्नै ल्याम्बोर्गिनी कारभित्र मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार उनको मृत्यु संभावित आत्महत्याका कारण भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनास्थलमा उनको नाममा दर्ता गरिएको बन्दुक फेला परेको बताइएको छ ।
रिपोर्टअनुसार गालिशले हालैको क्रिप्टो बजार लगानीकर्ताहरुको ३० मिलियन अमेरिकी डलर गुमाएका थिए । बिटक्वाइन (Bitcoin) र इथेरियम (Ethereum) सहितको बजारमा आएको ठूलो गिरावटपछि उनले मानसिक तनाव व्यहोरेको बताइएको छ ।
कोस्त्या कुडो (Kostya Kudo) नामले पनि परिचित गालिशले Cryptology Key नामक क्रिप्टो प्लेटफर्म सञ्चालन गरेका थिए र Cryptology Key Trading Academy का संस्थापक समेत थिए। उनले युक्रेनमा जारी युद्धका क्रममा सैनिक सहयोग र मानवतावादी सहायताका लागि करोडौँ रकम दान गरेको बताइन्छ।
कसै–कसैले गालिशले आत्महत्याअघि आफ्ना नजिकका व्यक्तिहरूलाई विदाइ सन्देश पठाएको दाबी गरेका छन्।
गएको शुक्रबार विश्व क्रिप्टो बजारले इतिहासकै ठूलो धक्का खेप्यो । केही घण्टामै करिब १९ अर्ब अमेरिकी डलर बराबरको पूँजी ह्रास भएको अन्तर्राष्ट्रिय रिपोर्टहरूमा उल्लेख छ । यो गिरावटको मुख्य कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा गरिएको चिनियाँ प्रविधि निर्यातमा १००% शुल्क र महत्त्वपूर्ण सफ्टवेयरमा कडा नियन्त्रण हो, जसले अमेरिका–चीन व्यापार तनावलाई थप चर्काएको छ ।

