वाणिज्य बैंकहरुको चुक्ता पुँजी ३ खर्ब २० अर्बले बढ्यो, प्रतिफल दरमा भने उच्च गिरावट

काठमाडौं । वाणिज्य बैंकहरुको चुक्ता पुँजीमा भारी वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो १३ वर्षमा बैंकहरुको पुँजी ४९० प्रतिशतले बढेको हो । अहिले बैंकहरुको चुक्ता पुँजी ३ खर्ब ८६ अर्ब २५ करोड रुपैयाँ रहेको छ । आज भन्दा १३ वर्ष अगाडि अर्थात, सन् २०१२ मा बाणिज्य बैंककको चुक्ता पुँजी ६५ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो ।

यसबीच बैंकहरुको क्यापिटल ३ खर्ब २० अर्ब ८८ करोडले रुपैयाँले बढेको छ । पुँजी वृद्धि पछि बैंकहरु अझ बलियो र सबल हुने भन्दै राष्ट्र बैंकले नै क्यापिटल कानूनी प्रबनध गरेर पुँजी बृदी गराएको थियो   । तर, यसको नकारात्मक असर लाभांश क्षमतामा देखियो । पुँजीमा वृद्धि भएपनि बैंकहरुको लाभांश वितरण दरमा भने उच्च गिरावट देखिएको छ ।

आर्थिक वर्ष २०६९-७० मा वाणिज्य बैंकहरुको औसत लाभांश वितरण दर २२.१९ प्रतिशत थियो । गत वर्षसम्म आइपुग्दा लाभांश वितरण दर घटेर ९.२२ प्रतिशत कायम भएको छ । यसअवधिमा बैंकहरुको लाभांश दर करिब १३ प्रतिशत विन्दुले घटेको छ । बैंकहरुको लाभांश दरमा कमि आउनुमा चुक्ता पुँजी वृद्धिलाई प्रमुख कारण मानिएको छ । सेयर बजारका जानकारहरुले यसरी पुँजीमा आएको वृद्धिका कारणले नै लाभांश क्षमतामा कमि आएको बताउँछन् ।

साथै, पुँजीसँगै व्यापार वृद्धि नहुनु, खराब कर्जा उच्च अंकले बढ्नु पनि प्रमुख कारण मध्ये मानिएको छ । यता, एनपीएल बढ्दा थुप्रै रकम प्रोभिजनमा छुट्याउँनु पर्ने बाध्यतामा बैंकहरु रहेका छन् । त्यसैले गर्दा नाफामा संकुचन आउँछ । नाफा घट्दा लाभांश क्षमता पनि कम हुन जान्छ । , एक जना विज्ञले अत्याधिक पुँजी वृद्धिका कारण नै बैंकहरुको लाभांश क्षमता कम हुँदै गएको बताउँछन् ।

‘बैंकहरुको चुक्ता पुँजीसँगै सेयर संख्या पनि बढ्न पुगेको छ, ‘उनले उदाहण दिंदै भने, ‘मानौ पहिला बैंकहरुले १ अर्ब कमाउने गरेका थिए, र त्यो नाफा ५ करोड कित्ता सेयरमा बाँड्दा प्रत्येकको भागमा २० रुपैयाँ पर्थ्यो । तर, अहिले बैंकहरु ५-७ अर्ब सम्म कमाएका छन् तर नाफा बाँड्दा प्रत्येकको भागमा १० देखि १५ रुपैयाँ मात्र पर्छ । किनकि, पहिला १ अर्ब रुपैयाँ ५ करोड कित्तामा भाग लाग्ने गरेको थियो । अहिले ५-७ अर्ब ३०-३५ करोड कित्तामा भाग लाग्ने गरेको छ । सेयरको सख्या बढ्यो, त्यसैले नाफाको रकम धेरै कित्तामा भाग लाग्यो ।’

वाणिज्य बैंकहरुलाई २०७२ सालमा राष्ट्र बैंकले चुक्ता पुँजी ८ अर्ब पुर्याउनु निर्देशन दियो । धेरै बैंकहरुले हकप्रद सेयर जारी गरेर पुँजी वृद्धि गरे । केहीले बोनस सेयर र एफपीओ जारी गरेर पनि पुँजी वृद्धि गरे । त्यसयता बैंकहरुको लाभांश दरमा निरन्तर जस्तो गिरावट देखिएको छ ।

त्यसमाथि, केही वर्ष अगाडि ठूला वाणिज्य बैंकहरुलाई मर्जरमा जानलाई राष्ट्र बैंकले नै दबाब दियो । बैंकहरुको पुँजी त्यसपछि बढेर ३० अर्ब भन्दा धेरै पुग्यो । जतिजति पुँजी बढेको त्यति नै लाभांश दरमा गिरावट देखिएको छ । र, बैंकहरुको व्यापार घट्ने र खराब कर्जा पनि यसैगरी बढ्ने हो भने लाभांश क्षमता झनै घट्दै जाने धेरैको विश्लेषण छ ।

त्यसमाथि, धेरै बैंकहरुले सञ्चित नाफाको रकम लाभांश वितरण गरेर रित्याउने गरेका छन् । त्यसले गर्दा केही कम्पनीहरुले एक वर्ष रिटेन्ड अर्निङमा भएजति सबै रकम बोनस वितरण गरेर सक्ने, त्यसपछि २ -३ वर्षसम्म प्रतिफल दिन नसक्ने अवस्था आएको पनि देखिन्छ ।

पुँजी वृद्धिले सेयर बजारमा समेत सीधा प्रभाव परेको छ । पुँजी बढेपछि बजारमा सेयरको संख्या पनि बढ्छ । जसले आपूर्ति वृद्धि गर्छ । जब बजारमा आपूर्ति बढ्छ र माग उस्तै रहन्छ, सेयरको मूल्यमा भने खासै राम्रो सुधार आउँदैन । यही कारण हालका वर्षहरुमा बैंकिङ सेयरहरुको मूल्य घट्ने र स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार