काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर प्रक्षेपणलाई सामान्य रूपमा घटाएको छ।
आईएमएफको प्रमुख प्रकाशन ‘वर्ल्ड इकोनोमिक आउटलुक’ मा चालु आर्थिक वर्षका लागि नेपालको आर्थिक वृद्धिदर ५.२ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। यसअघि गत अप्रिलमा आईएमएफले नेपालको आर्थिक वृद्धिदर ५.५ प्रतिशत हुने अनुमान गरेको थियो।
‘जेन जी’ आन्दोलनका कारण अर्थतन्त्रमा परेको प्रभावले ५.५ प्रतिशतको लक्ष्य हासिल नहुने भन्दै आईएमएफले आफ्नो प्रक्षेपणलाई ०.३ प्रतिशत विन्दुले घटाएको हो। यसअघि विश्व बैंकले पनि नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण घटाएको थियो।
आईएमएफले विश्वव्यापी आर्थिक वृद्धिदरसम्बन्धी आफ्नो प्रक्षेपण पनि सार्वजनिक गरेको छ । कोषका अनुसार विश्वको आर्थिक वृद्धिदर चालु वर्षमा ३.२ प्रतिशत र आगामी वर्ष ३.१ प्रतिशत रहने अनुमान छ।
यो नयाँ विश्वव्यापी प्रक्षेपण गत वर्ष गरिएको अनुमानभन्दा ०.२ प्रतिशत विन्दु कम हो । यद्यपि, गत अप्रिलको प्रक्षेपणको तुलनामा भने यो ०.४ प्रतिशत विन्दु बढी हो ।
आईएमएफका अनुसार, गत अप्रिलमा संयुक्त राज्य अमेरिकाले घोषणा गरेको ट्यारिफ (भन्सार दर) का कारण विश्वव्यापी अर्थतन्त्र प्रभावित भएको छ। गत अप्रिलमा अमेरिकाले घोषणा गरेको व्यापक ट्यारिफ वृद्धिका कारण अनिश्चय उच्च रहेकोमा अहिले त्यसमा केही कमी आएको छ ।
अमेरिकाले धेरै मुलुकसँग व्यापार सम्झौता गरेको तथा अन्य मुलुकहरुले जवाफी रुपमा भन्सार नबढाएकाले पनि केही निश्चितता थपिएको आईएमएफका इकोनोमिक कायन्सेलर तथा अनुसन्धान विभाग प्रमुख पियरे–ओलिभर गोरिन्चासले मंगलबार प्रतिवेदन सार्वजनिक गर्दै बताए। त्यही भएर विश्व आर्थिक वृद्धिको प्रक्षेपणमा सामान्य सुधार गरेको उनको भनाइ छ ।

