वीरगञ्ज । गत आर्थिक वर्षमा पर्सामा रु १ अर्ब ६२ करोड ५६ लाख ८५ हजार ५०० लगानी गर्ने भन्दै ९ सय ६३ वटा नयाँ घरेलु उद्योग दर्ता भएका छन् । गत आवमा दर्ता भएका ती घरेलु उद्योगको स्थिरपुँजीतर्फ रु १ अर्ब करोड ७७ लाख ९ हजार ३६० रहेको छ । त्यस्तै चालुपुँजीतर्फ भने रु ६७ करोड ४४ लाख ७ हजार ५ सय ४० रुपैयँा रहेको छ ।
घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्जका प्रमुख उद्योग अधिकृत पवन पञ्जीयारले गत आवमा दर्ता भएका ९ सय ६३ घरेलु उद्योगले २ हजार ८९८ जनालाई रोजगारी सिर्जना गर्ने बताए । “पर्सा जिल्लामा घरेलु उद्योग दर्ता गर्ने उद्यमीहरूको सङ्ख्यामा वृद्धि भइरहेको छ । गत आवमा दर्ता भएका घरेलु उद्योगले १ हजार ७३७ पुरुष र १ हजार १६१ जना महिलालाई रोजगारी दिने जनाएका छन्”, उनले भने ।
कार्यालयका अनुसार गत आवमा जिल्लामा उत्पादकमूलक उद्योगतर्फ २ सय १८ नयाँ उद्योग दर्ता भएका छन् । ती उद्योगको कूल पुँजी भने रु ४३ करोड ८२ लाख रहेको छ । कृषि तथा वन अन्य उद्योगतर्फ भने १ सय ४४ वटा उद्योग दर्ता हुँदा ती उद्योगको कूल पुँजी रु ३९ करोड ३५ लाख रहेको पञ्जीयारले जानकारी दिए । उनका अनुसार निर्माणतर्फ कूल पुँजी रु १० करोड ३३ लाख रहने गरी ७५, पर्यटन उद्योगतर्फ कूल पुँजी रु २ करोड २३ लाख रहने गरी १ सय छ, सेवातर्फ कूल पुँजी भने रु ६६ करोड ८२ लाख रहने गरी चार सय २० वटा नयाँ उद्योग दर्ता भएका छन् ।

