प्राविधिक विश्लेषण गर्दा अत्याधिक प्रयोग गरिने ‘एमएसीडी लाइन’ ३ वर्ष यताकै न्यून विन्दुमा, बजारमा बियरिस सेन्टिमेन्ट हावी

काठमाडौं । नेप्सेको दैनिक चार्ट (डेली चार्ट)मा मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (एमएसीडी) लाइन २०२२ जुलाई महिना यताकै न्यून विन्दुमा झरेको छ । बजारमा आएको लगातारको गिरावट कारण उक्त इन्डिकेटरमा दबाब परेको हो । साताको अन्तिम कारोबार दिन अर्थात, बिहीबार असोज ३० गतेको डाटा अनुसार एमएसीडी माइनस ६६.७६ र सिग्नल लाइन माइनस ५६.३१ विन्दुमा झरेका छन् ।

डेली चार्ट अनुसार यो विन्दु ३९ महिना यताकै न्यून हो । यता, हिस्ट्रोग्राम पनि माइनस १०.४५ अंकमा छ । एमएसीडीसँगै अन्य प्राविधिक इन्डिकेटरहरुले पनि नकारात्मक संकेत देखाएका छन् । आएएसआई पनि ३३.३४ अंकमा झरेको छ । इन्डेक्स अहिले बोलिन्जर ब्यान्डको लोबर ब्यान्ड नजिक छ ।

बिहीबार नेप्से सूचक १८.४० अंकले घटेर २४८७.१७ विन्दुमा झरेको छ । क्लोजिङका आधारमा यो १ वर्ष यताकै न्यून विन्दु हो । पछिल्लो समय नेपालको सेयर बजारमा वियरिस सेन्टिमेन्ट हावी हुँदै गएको स्पष्ट देखिन्छ । बजार थोरै अंकले बढ्दा पनि ट्रेडरहरुले नाफा बुक गर्न हतारिन्छन्, जसले गर्दा सुचकमा दबाब परेको छ ।

सेयर बजारमा बियरिस सेन्टिमेन्ट हावी हुनुमा नीतिगत अनिश्चितता र लगानीकर्ताको मनोवैज्ञानिक डर पनि प्रमुख हो । त्यसमाथि, संस्थागत लगानीकर्ताको सहभागिता कम हुनु पनि बजार घट्नुको कारण हो । एमएसीडी  लगातार कम स्तरमा रहनुले बजारको गति निकै कमजोर रहेको संकेत दिन्छ । र मूल्यमा ठूला उतार-चढावको सम्भावना कम गर्छ ।

के हो मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (एमएसीडी) लाइन ?

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्सलाई सामान्यतया एमएसीडी भनेर चिनिन्छ । यो प्राविधिक विश्लेषणमा प्रयोग हुने एक महत्वपूर्ण मोडिमेन्टम नाप्ने (गति) सूचक हो । यो बजारको मूल्यको गति, दिशा, र संभावित परिवर्तनको संकेत दिन प्रयोग गरिन्छ । एमएसीडीको मुख्य उद्देश्य भनेको लगानीकर्तालाई बजारमा खरिद वा बिक्रीको उपयुक्त समय पत्ता लगाउन सहयोग गर्नु हो ।

एमएसीडी लाई सामान्यतया तीन प्रमुख भागमा विभाजन गर्न सकिन्छ । पहिलो हो एमएसीडी लाइन (प्रायः निलो रंगले देखाइन्छ), जुन १२-दिने र २६-दिने एक्स्पोनेन्सियल मुभिङ एभरेज (इएमए) बीचको अन्तर हो । यो लाइन बजारको गति र ट्रेन्डको संकेत दिन महत्वपूर्ण भूमिका खेल्दछ।

दोस्रो घटक हो सिग्नल लाइन (प्रायः ओरेन्ज रंग), जुन एमएसीडी लाइनको ९-दिने इएमए हो । सिग्नल लाइन मुख्यतया क्रसओभर सिग्नल दिन प्रयोग हुन्छ । अन्तिम घटक हो हिस्टोग्राम, जुन एमएसीडी लाइन र सिग्नल लाइनको अन्तरलाई बारको रुपमा देखाउँछ। हिस्टोग्रामले बजारको बल र कमजोर संकेत स्पष्ट पार्छ ।

एमएसीडी लाई प्रयोग गर्ने प्रमुख तरिका भनेको क्रसओभर सिग्नल हेर्नु हो । जब एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट माथि क्रस गर्छ, तब यो बुलिश सिग्नल मानिन्छ र बजार बढ्ने सम्भावना जनाउँछ । यस विपरीत, जब एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट तल क्रस गर्छ, तब यो बेयरिश सिग्नल मानिन्छ र बजार घट्ने सम्भावना जनाउँछ।

हिस्टोग्राम पनि बजारको दिशात्मक बल बुझ्न सहयोग पुर्याउँछ । बारको आकार बढ्दा बजार बलियो हुँदैछ र घट्दा बजार कमजोर हुँदैछ।
एमएसीडी एक सरल तर प्रभावकारी सूचक हो, जसले लगानीकर्तालाई ट्रेन्ड र मोमेन्टम दुवै बुझ्न सहयोग गर्छ । तर, यसलाई अन्य प्राविधिक सूचककहरुसँग मिलाएर प्रयोग गर्दा मात्र सही निर्णय लिन सकिन्छ । यसले बजारमा सही समयमै खरिद वा बिक्री गर्न मद्दत पुर्याउँछ र लगानीको जोखिमलाई घटाउँछ ।

रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई)

रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) सेयर बजारको प्रवृत्ति र गति बुझ्न अत्यन्तै उपयोगी प्राविधिक सूचक हो । यसले बजारको बल (स्टेन्थ) मापन गरी लगानीकर्तालाई भविष्यको सम्भावित दिशा (trend reversal) को चेतावनी दिन्छ । आरएसआई लाई ० देखि १०० सम्मको स्केलमा प्रस्तुत गरिन्छ । आरएसआईको मान यदि ७० भन्दा माथि पुग्छ भने बजारलाई Overbought (अत्यधिक किन्निएको) मानिन्छ । र आरएसआई ३० भन्दा तल पुग्छ भने बजारलाई Oversold (अत्यधिक बेचिएको) मानिन्छ । अहिले आरएसआई ३३.४३ विन्दुमा छ ।

Chart: SmartwealthPro 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार