काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको २ महिना अथार्त, भदौ महिनासम्म समग्रमा १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ६.१८ प्रतिशत कम हो । गत वर्षको भदौसम्म बैंकहरुले १७ अर्ब ६९ करोड रुपैयाँ नाफा कमाएका थिए ।
खराब कर्जा वृद्धि, कम कर्जा प्रवाह र इम्पेयरमेन्ट चार्ज बढ्दा नाफामा दबाब परेको हो । २० बैंकहरुमध्ये १० वटाको नाफा घटेको छ । जसमध्ये सबैभन्दा धेरै हिमालयन बैंकको नाफा ६८.२६ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सबैभन्दा धेरै नाफा बढ्नेमा भने सिद्धार्थ बैंक रहेको छ । यसको नाफा ४० प्रतिशत बढेको छ ।
तथ्यांक अनुसार वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक अगाडि छ । यसले २ महिनामा १ अर्ब ६२ करोड नाफा कमाएको छ । त्यसपछि, नबिलले १ अब ३२ करोड, नेपाल इन्भेष्टमेन्ट मेगाले १ अर्ब २६ करोड, कुमारीले १ अर्ब ५ करोड, प्राइम कमर्सियलले १ अर्ब ४ करोड र एनएमबिले १ अर्ब ३ करोड नाफा आर्जन गरेको छ । बाँकी बैंकहरुको नाफा १ अर्ब भन्दा कम छ ।


