काठमाडौं । रेकर्ड तोड्दै उकालो लागेको सुनको मूल्य मंगलबार ठूलो अंकले घटेको छ । सुन मंगलबार प्रतिऔंस २३१.६५ डलरले घटेको छ । यो पछिल्ला केही वर्षकै यताकै सबैभन्दा ठूलो एकदिने गिरावट हो । मंगलबार सुन प्रतिऔंस ४ हजार १२३.९६ डलर कायम भएको थियो ।
यता, बुधबार यो समाचार तयार पार्दै गर्दा (९ बजे) सुन ११.७५ डलरले घटेर ४ हजार ११२ डलरमा कारोबार हुँदैछ । लगानीकर्ताले नाफा बुक गरेपछि र अमेरिकी डलर बलियो बनेसँगै सुनमा ठूलो बिक्री देखिएको हो ।
विश्लेषकहरूले सुनको यो गिरावटको कारण पछिल्लो उच्च मूल्यपछि भएको नाफा बुकिङ, डलरको मजबूती, र अमेरिका–चीन व्यापार वार्तामा सुधारको आशालाई मानेका छन् ।
अमेरिकी डलर ०.४ प्रतिशतले बढ्दा अन्य मुद्रामा सुन किन्ने लगानीकर्ताका लागि मूल्य अझै महँगो भएको छ । यसअघि सोमबार सुनको मूल्य ४ हजार ३८१ डलरमा पुग्दै इतिहासकै उच्च स्तरमा पुगेको थियो । आर्थिक अनिश्चितता, ब्याजदर घट्ने अपेक्षा र केन्द्रीय बैंकहरुको खरिदका कारण यो वर्ष सुनमा करिब ६० प्रतिशत वृद्धि भएको हो ।

