काठमाडौं । सोयाबिन तेल, कार्पेट, सनफ्लावर तेल र फेल्टको निर्यातले मुलुकको निर्यात व्यापार बढाएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा निर्यात व्यापार ८८.५७ प्रतिशतले बढेकोमा तीन महिनासम्म आइपुग्दा निर्यात ८९.६४ प्रतिशतले बढेको छ ।
भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार ०८२/८३ को पहिलो त्रैमासमा ७२ अर्ब ७८ करोड २८ लाखको वस्तु निर्यात भएको छ । ०८१/८२ को सोही अवधिमा ३८ अर्ब ३७ करोड ८७ लाखको मात्रै निर्यात भएको थियो ।
तीन महिनाको निर्यात व्यापार हेर्दा ७२ अर्ब ७८ करोड २८ लाख रुपैयाँ भएको छ । जबकि ०८१/८२ को सोही अवधिमा ३८ अर्ब ३७ करोड ८७ लाखको वस्तु निर्यात भएको थियो । एकै महिना ३४ अर्ब ४० करोड ४१ लाख रुपैयाँले निर्यात बढेको छ ।
‘ निर्यात व्यापार बढ्नुको मुख्य कारण सोयाबिन तेल, कार्पेट, सनफ्लावर तेल र फेल्ट हो,’ विभागका एक अधिकारीले भने । निर्यात भएका वस्तुमध्ये पहिलो नम्बरमा सेयाबिन तेल नै छ । तीन महिनामा ३० अर्ब ६९ करोड ७८ लाख रुपैयाँको सोयाबिन तेल निर्यात भएको छ । तेल भारत निर्यात भएको छ । निर्यात बजारमा क्रुड सोयाबिन, पाम र सनफ्लावरको भूमिका महत्त्वपूर्ण रहन्छ । तेस्रो मुलुकबाट आयात हुने कच्चा पदार्थ व्यवसायीले रिफाइन गरेर भारत निर्यात गर्छन् । सोयाबिनको कच्चा पदार्थ नेपालमा उपलब्ध हुँदैन ।
निर्यात भएको वस्तुमध्ये दोस्रो नम्बरमा कार्पेट छ । तीन महिनामा २ अर्ब ५७ करोड ५४ लाख रुपैयाँको कार्पेट अमेरिका निर्यात भएको छ । भारतपछि नेपालको निर्यात व्यापारको गन्तव्य अमेरिका हो । तथ्यांकअनुसार तीन महिनामा भारतमा ५९ अर्ब १२ करोड ८४ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । दोस्रोमा अमेरिकामा ४ अर्ब ८१ करोड ४३ लाख रुपैयाँको वस्तु निर्यात भएको छ ।
निर्यात भएको वस्तुमध्ये तेस्रो, चौथोमा क्रमशः सनफ्लावर र फेल्ट रहेको छ । तीन महिनामा २ अर्ब १३ करोड ९५ लाख रुपैयाँको सनफ्लावर र १ अर्ब ७३ करोड ९६ लाख रुपैयाँको फेल्ट निर्यात भएको छ । सनफ्लावर, फेल्ट पश्चयात भने पाम तेल, अलैंची, जुटजन्य सामग्री र यार्न लगायतका वस्तु रहेको छ ।
तीन महिनामा पाम तेल १ अर्ब ७३ करोड ३४ लाख, अलैंची अर्ब ६७ करोड ९१ लाख, जुटजन्य सामग्री १ अर्ब ५९ करोड १ लाख र यार्न १ अर्ब ४३ करोड ८७ लाख रुपैयाँको निर्यात भएको छ । तीन महिनामा कालो चिया १ अर्ब २ करोड ५ लाखको निर्यात भएको छ । तीन महिनामा उच्च निर्यात हुनेमा जुस, प्लाइउड, कुकुर र बिरालाको आहार लगायतका सामग्री रहेको छ ।

