काठमाडौं । खाद्यले १३ केन्द्रमार्फत समर्थन मूल्यमा धान खरिद गर्ने, पैसा किसानको खातामा पठाइनेखाद्य व्यवस्था तथा ब्यापार कम्पनीले सरकारले तोकेको न्यूनतम् समर्थन मूल्यमा विभिन्न १३ केन्द्रमार्फत धान खरिद गर्ने निर्णय गरेको छ । कार्तिक ८ गते कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यको अध्यक्षतमा बसेको बैठकले सरकारले तोकेको न्यूनतम् समर्थन मूल्यमा धान खरिद गर्न विभिन्न १३ वटा खरिद केन्द्र सञ्चालन गर्ने निर्णय गरेको हो ।
धान उत्पादनको पकेट क्षेत्रलाई आधार मानेर १३ वटा खरिद केन्द्र सञ्चालन गर्ने निर्णय भएको प्रमुख कार्यकारी अधिकृत आचार्यले जानकारी दिए । उनका अनुसार महेन्द्रनगर, धनगढी, राजापुर, नेपालगञ्ज, जुम्ला, तुलसीपुर, भैरहवा, पोखरा, बीरगञ्ज, लहान, जनकपुर, विराटनगर र बिर्तामोडमा खरिद केन्द्र सञ्चालन गरिनेछ ।
आवश्यकता अनुसार खरिद उपकेन्द्र सञ्चालन गर्न सकिने निर्णयसमेत गरिएको छ । कम्पनीले धान खरिद गर्दा किसान सुचीकरण फाराम भरी प्रमाणित गरी एक प्रति किसानलाई दिने र एक प्रति खरिद केन्द्रले अभिलेखका रुपमा राख्ने प्रबन्ध गरेको छ ।
सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ६ सय २८ रुपैयाँ निर्धारण गरेको छ ।
धान खरिद बापतको रकम सोझै किसानको बैंक खातामा अनलाइन माध्यमबाट जम्मा गरिने प्रमुख कार्यकारी अधिकृत आचार्यले जानकारी दिए ।

