धितोपत्र बोर्डमा १० कम्पनीको हकप्रद सेयर पाइपलाइनमा, कुनको कति आउँदैछ ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १० कम्पनीले हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएका छन् । आवेदन दिनेमा जलविद्युत समूहका ५ वटा कम्पनी, लगानी र उत्पादन समूहका एक-एक वटा कम्पनी र ३ वटा बिमा कम्पनी रहेका छन् ।

जसअनुसार नेपाल ल्यूब आयलले २०० प्रतिशत हकप्रद बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । त्यस्तै, बुद्ध भूमि, सगरमाथा, बाराही र माईखोलाले १०० प्रतिशत हकप्रद जारी गर्ने भएका छन् । यी कम्पनीहरुले नयाँ आयोजनामा लगानी गर्न साथै, बैंकको कर्जा तिर्नका लागि हकप्रद जारी गर्न लागेका हुन् ।

यता, सानिमा जीआइसीले १७ प्रतिशत हकप्रद जारी गर्ने भएको छ । कम्पनीले यसअघि घोषणा गरेको २५ प्रतिशत हकप्रद सेयर संशोधन गरेर उक्त दरमा हकप्रद जारी गर्न लागेको हो । त्यसैगरी, प्रभु इन्सुरेन्सले ४७ प्रतिशत, युनाइटेड अजोडले १० प्रतिशत सेयर जारी गर्ने भएको हो । यी कम्पनीहरुले यस अघि घोषणा गरेको हकप्रद दर संशोधन गरेका हुन् । इन्सुरेन्सहरुले पहिला घोषणा गरेको हकप्रद संशोधन गरी घटाएका हुन् ।

प्रभु महालक्ष्मीले भने हकप्रद प्रस्ताव नै रद्द गरेको छ । बोनस सेयर वितरण गरेरै बिमा प्राधिकरणले तोके अनुसार पुँजी पुर्याउन सकेको कारण यसले हकप्रद प्रस्ताव रद्द गरेको हो । अरु बिमाहरुले पनि सोही कारण हकप्रद दर घटाएका हुन् । यता, सूचीकृत धेरै कम्पनीहरुले हकप्रद जारी गर्ने घोषणा गरेका छन् । तर, ती कम्पनीहरुले धितोपत्र बोर्डमा आवेदन दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार