काठमाडौं । सेयर कारोबार गर्ने लगानीकर्ताले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारलाई ३ अर्ब २७ लाख २५ हजार रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन् । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार चालु आवको ३ महिना अर्थात, असोजसम्म लगानीकर्ताले उक्त रकम बराबरको कर बुझाएका हुन् । जसमध्ये लगानीकर्ताले असोजमा मात्रै २४ करोड ३६ लाख रुपैयाँ बराबरको लाभकर बुझाएका छन् ।
असोजमा दीर्घकालिन अर्थात, १ वर्ष भन्दा धेरै समय सेयर होल्ड गरी नाफामा धितोपत्र बिक्री गर्ने लगानीकर्ताले १० करोड ७० लाख र अल्फकालिन लगानीकर्ताले (१ वर्ष भन्दा कम समय सेयर होल्ड गरी नाफामा बिक्री गर्ने ) ९ करोड ४० लाख लाभकर तिरेको तथ्यांकले देखाएको छ । यता, कर्पोरेटहरुले ४ करोड २४ लाख पुँजी गत लाभकर तिकेका छन् ।
सीडीएससीका अनुसार चालु आवको साउन महिनामा सेयर कारोबार गर्ने लगानीकर्ताबाट २ अर्ब १५ करोड ७५ लाख ६९ हजार ६१ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो । भदौ महिनामा भने ६० करोड १४ लाख ९९ हजार ४६४ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो ।
सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर खरिद गरेर १ वर्ष भन्दा कम अवधिमा बिक्री गर्दा ७.५ प्रतिशत र १ वर्षभन्दा बढी समय राखेर बिक्री गरेमा ५ प्रतिशत पुँजीगत लाभकर तिर्नु पर्ने व्यवस्था छ ।

