विश्व बजारमा सुनको भाउ घट्ने क्रम रोकिएन, मंगलबार पनि ५० डलर भन्दा धेरैको गिरावट

काठमाडौं । विश्व बजारमा सुनको भाउ घट्ने क्रमले निरन्तरता पाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ९२८ डलरमा कारोबार हुँदैछ । यो समाचार तयार पार्दै गर्दा (१ बजेर २४ मिनेट) सुन प्रतिऔंस ५३ डलरले घटेको छ । गएको अक्टोबर २१ देखि सुन लगातार जस्तो घटेको छ । प्रतिऔंस ४ हजार ३५५ डलरमा पुगेर बन्द भएको सुन अहिले ३ हजार ९०० एरियामा किनबेच हुँदैछ । ६ कारोबार दिनमै सुन १० प्रतिशतले घटेको छ ।

यसको प्रभाव नेपाली बजारमा पनि देख्न सकिन्छ । नेपाल पनि उच्च विन्दुबाट सुन २१ हजार रुपैयाँले घटिसकेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन घटेपनि नेपालपनि यसको मूल्यमा गिरावट आउँछ । यस गिरावटका कारणहरु भूराजनीतिक तनावमा कमी, अमेरिकी–चीन व्यापार वार्ता सुधारका संकेत, र फेडरल रिजर्भको ब्याजदर निर्णयप्रति लगानीकर्ताको प्रतीक्षालाई जोडेर विश्लेषण गर्न सकिन्छ ।

भूराजनीतिक तनाव घट्दै गएपछि लगानीकर्ताले “सेफ हेवन” सम्पत्तिबाट नाफा बुक गर्न थालेका छन् । विश्व बजारमा मन्दी, भूराजनीतिक तनाब भएको बेला सामान्यतः लगानीकर्ताहरुले जोखिम कम गर्न सुनमा लगानी गर्छन्, तर अहिले विश्वका मुख्य अर्थतन्त्रबीच व्यापार सम्बन्ध सुधारको संकेतले सुनको सुरक्षित लगानीको आकर्षण घटाएको छ ।

त्यस्तै, अमेरिकी फेडरल रिजर्भको आगामी बैठकमा ब्याजदरमा सम्भावित कटौतीले सुनको मूल्यमा अस्थिरता थपेको छ । त्यसैले, घरेलु बजारमा पनि विश्व बजारको गिरावटको प्रभाव देखिएको छ।

विश्लेषकहरुले बजार हाल अस्थिर अवस्थामा रहेको बताउँछन् । एक अर्थशास्त्रीका अनुसार लगानीकर्ताले पछिल्लो तीव्र वृद्धिपछि नाफा बुक गर्दै बजारमा सुन बेच्ने क्रम बढाएको हो । त्यस्तै, Capital Economics ले सन् २०२६ को अन्त्यसम्म सुनको मूल्य ३ हजार ५०० डलर प्रति औंसमा झर्ने सम्भावना रहेको अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार