सत्ता पलटपछि श्रीलंकाको सेयर बजार बुलिस रनमा, बंगलादेशको मार्केटमा भने छैन चमक, नेपालको के होला ?

काठमाडौं । सन् २०२२ मा भएको आन्दोलनका कारण सत्ता पलट भएदेखि श्रीलंकाको सेयर बजारमा निरन्तर वृद्धि आएको छ । त्यहाँको कोलम्बो स्टक एक्सचेन्जको बेन्चमार्क एएसपीआईमा ठूलो वृद्धि देखिएको हो । यता, त्यस्तै आन्दोलनका कारण सत्ता पल्टीएको बंगलादेशको सेयर बजारमा भने चमक छैन । बजारमा केही उतारचढाव देखिएपनि २०२४ जुलाईको हाई विन्दुलाई ब्रेक गर्न सकेको छैन ।

बंगलादेशमा सन् २०२४ जुलाईमा भएको विद्यार्थीहरुको आन्दोलनमा त्यहाँकी प्रधानमन्त्री शेख हसिनाले राजिनामा दिएर देश छाडेकी थिइन् । त्यस्तै, श्रीलंकामा पनि यस्तै आन्दोलन सन् २०२२ को जुलाईमा भएको थियो ।

त्यहाँपनि राष्ट्रपति र प्रधानमन्त्रीले देश छाडेर भाग्नु परेको थियो । देशमा विदेशी मुद्राको अभावका कारण चरम आर्थिकमन्दी थियो । श्रीलंकाले इन्धन जस्ता दैनिक आवश्यक पर्ने वस्तुको आयात गर्न सकेको थिएन । चरम निराशाका कारण जनता सडकमा आएर आन्दोलनमा उत्रिएका थिए । जुन आन्दोलनले गर्दा तत्कालिन सरकारमा रहेका प्रमुखले देश छाडेर भाग्नु परेको थियो ।

जब आन्दोलन चर्कियो तब पनि श्रीलंकाको सेयर बजारमा सामान्य गिरावट देखियो । किनकि, त्यहाँको सेयर बजार पहिला नै ठूलो अंकले घटिसेकको थियो । तर, अहिले मार्केट अल टाइम हाईको एरियामा छ । त्यसबेला जब आन्दोलन चर्कियो तब बजार ७-८ हजार विन्दुमा थियो ।  हाल सूचकांक साढे २२ हजार माथि छ ।

तत्कालीन आर्थिक संकट, मुद्रास्फीति, इन्धन अभाव र शासनप्रतिको असन्तुष्टिका कारण एप्रिलदेखि जुलाई २०२२ सम्म चलेको आन्दोलनले देशको राजनीतिक भविष्य नै बदलिदिएको थियो । जुलाई, सन् २०२२ मा जनताले कोलम्बोस्थित राष्ट्रपति भवन कब्जा गर्दै तत्कालीन राष्ट्रपति गोटाबाया राजपक्षेलाई राजीनामा दिन बाध्य पारेका थिए । त्यसपछि नयाँ नेतृत्वका रुपमा रनिल विक्रमसिङ्घे सत्तामा आएपछि राजनीतिक स्थायित्व र आर्थिक सुधारका संकेत देखिए ।

यही परिवर्तनपछि लगानीकर्ताहरुमा पुनः विश्वास बढेको विश्लेषकहरुको भनाई छ । आन्दोलनका कारण सुरुवाती महिनामा बजारमा तीव्र गिरावट देखिए पनि त्यसपछिका महिनामा कोलम्बो स्टक एक्सचेन्जमा निरन्तर सुधारको क्रम देखाएको छ । बैंकिङ, ऊर्जा, पर्यटन र निर्माणसम्बन्धी कम्पनीका सेयरहरुमा उल्लेखनीय कारोबार बढेको छ। विश्लेषकहरुका अनुसार नयाँ सरकारले विदेशी लगानी आकर्षित गर्ने नीति, कर सुधार, र विदेशी मुद्रा भण्डार सुदृढीकरणमा ध्यान दिँदा बजारमा सकारात्मक वातावरण बनेको हो ।

तर, बंगलादेशको सेयर बजारमा सुधार देखिएको छैन । श्रीलंकाको जस्तो जनआन्दोलनपछि बंगलादेशमा पनि हालै ठूला प्रदर्शन र राजनीतिक अशान्ति देखिएको थियो । तर,  त्यसको सकारात्मक असर सेयर बजारमा देखिएको छैन । ढाका स्टक एक्सचेन्जको सूचककांक अझै कमजोर छ, र लगानीकर्तामा विश्वास पुनःस्थापित हुन सकेको छैन ।

सन् २०२४ को आन्दोलनपछि सरकार परिवर्तन भएपनि स्थायी राजनीतिक समाधान र आर्थिक नीति सुधारको स्पष्ट दिशा अझै नदेखिँदा बजारले सकारात्मक प्रतिक्रिया जनाउन सकेको छैन । विश्लेषकहरुको भनाई अनुसार  श्रीलंकामा आन्दोलनपछि नयाँ नेतृत्वले तुरुन्त सुधारका संकेत दिएको थियो, तर बंगलादेशमा नीति अनिश्चितता, विदेशी लगानीमा गिरावट र टाढिंदै गएको अन्तर्राष्ट्रिय विश्वासले बजारलाई दबाबमा राखेको छ ।

ढाका स्टक एक्सचेञ्जको प्रमुख सूचक डीएसइएक्स गत केही महिनादेखि ५ हजार ५०० अंक आसपासमै स्थिर छ । बैंकिङ, वस्त्र (टेक्सटाइल), र निर्माण क्षेत्रका कम्पनीहरु अझै पनि कमजोर नाफा र विदेशी मुद्रा अभावका कारण दबाबमा छन् । ढाकास्थित एक वित्तीय विश्लेषकका अनुसार, “बंगलादेशमा आन्दोलनले सुधारको बाटो खोलेको छैन, बरु लगानीकर्तामा अझै डर र प्रतीक्षा छ । जबसम्म नीति स्थिरता र विश्वसनीय सुधार देखिँदैन, बजारमा नयाँ ऊर्जा आउँदैन ।”

हाल बजार स्थिर देखिएपनि लगानीकर्ताहरु आगामी बजेट र सरकारको सुधार योजनाप्रति नजर गढाइरहेका छन् । विश्लेषकहरुका अनुसार राजनीतिक स्थायित्व र पारदर्शिता बिना बंगलादेशको सेयर बजारमा उल्लेखनीय उछाल आउन अझै समय लाग्ने देखिन्छ ।

नेपालको सेयर बजार के होला ?

नेपालमा पनि हालैको राजनीतिक अस्थिरता र आन्दोलनका कारण लगानी वातावरणमा अनिश्चितता बढेको छ । सेयर बजारमा तत्काल ठूलो उछाल नदेखिनु यसैको प्रतिफल हो । श्रीलंकाको उदाहरणले देखाएको जस्तो राजनीतिक परिवर्तन र आर्थिक सुधारको संकेतले बजारमा सकारात्मक प्रभाव पार्छ, तर नेपालमा अहिले नीति स्पष्ट नहुँदा र स्थायी राजनीतिक समाधान नदेखिँदा लगानीकर्ताहरु सतर्क छन् ।

यद्दपि, सेयर बजारलाई सकारात्मक प्रभाव पार्ने धेरै कुराहरुले मार्केटलाई सपोर्ट गरेको पनि देखिन्छ । अहिले बैंकहरुले ब्याजदर घटाएका छन् । यसले ऋण सजिलो बनाउने, व्यापार र लगानी प्रोत्साहित गर्ने र सेयर तथा अन्य लगानी विकल्पतर्फ लगानीकर्तालाई आकर्षित गर्ने सम्भावना राख्छ । साथै, सेयर पनि सस्तोमा खरिद गर्न सकिन्छ । प्रतिकित्ता २०० भन्दा कम सेयर भाउ रहेका कम्पनीहरुको प्रसस्तै छन् ।

तर, राजनीतिक अस्थिरता र नीति अस्पष्टता अझै कायम छ । आन्दोलन र सरकार परिवर्तनले लगानीकर्तामा अनिश्चितता बढाएको छ । विश्लेषकहरुको अनुसार यदि नेपालमा राजनीतिक स्थायित्व कायम हुन्छ, सुधार नीतिहरु स्पष्ट हुन्छन् र लगानी वातावरण प्रोत्साहित हुन्छ  तब बजारमा दीर्घकालीन सकारात्मक प्रभाव देखिन सक्नेछ ।

त्यसैले हालको अवस्थामा नेपालमा बजार सानो उछाल देखिन सक्छ, तर दीर्घकालीन ठूलो वृद्धि त्यसको लागि स्थायी आर्थिक र राजनीतिक सुधार आवश्यक छ । नेपालको सेयर बजारले अहिलेको परिस्थितिलाई सावधानीपूर्वक निगरानी गर्दै, लगानीकर्ताको विश्वास बढाउने संकेतहरु खोज्ने चरणमा रहेको छ । बैंकको ब्याजदर घटाइले केही सकारात्मक ऊर्जा थपेको भए पनि वास्तविक सुधार राजनीतिक र आर्थिक स्थायित्वमा निर्भर रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार