दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरलले जेन-जी आन्दोलनका नाममा न्यायालयमाथि आक्रमण गरेर नेपालको कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्र भएको टिप्पणी गरेका छन् । उनले गूह जिल्ला भ्रमणको क्रममा सो कुरा बताएका हुन् ।
प्रेस चौतारी दाङले आज गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले आन्दोलनका क्रममा न्यायालयमाथिको आक्रमण सामान्य नभएको दाबी गर्दै नेपालको कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्रको परिणाम भएको टिप्पणी गरेका हुन् । ´जेन-जी आन्दोलन दबाउन न्यायालयको कुनै भूमिका हुने कुरै भएन ।` उनले भने-´ कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्रको परिणाम हो ।` जेन-जी आन्दोलनमा उठाइएका माग जायज भएको उल्लेख गर्दै महासचिव पोखरेलले उक्त आन्दोलनमा नवयुवाको आन्दोलनमा राष्ट्र विरोधी स्वार्थी तत्वले घुसपैठ गरेको बताए ।
पत्रकार सम्मेलनमा महासचिव पोखरेलले वर्तमान सरकार एनजिओ र आइएनजिओको भएको समेत दाबी गरे । सरकारले गैह्र सरकारी संस्थालाई जेन-जी आन्दोलनको स्टेक होल्डर बनाएको भन्दै नेपालको संविधानले गैह्र सरकारी संस्थालाई आन्दोलनको स्टेक होल्डर बन्ने परिकल्पना नगरेको दाबी गरे । आन्दोलनका नाममा प्रहरीका हतियार लुटिएको र कैदीहरू बाहिर रहेकाले असुरक्षा बढेको भन्दै पोखरेलले त्यसले चुनावमा त्रास फैलाउने बताए ।

