काठमाडौं । काठमाडौंसहित देशका मध्य र पूर्वी भूभागमा झरी लम्बिएको छ। यसअघि बागमती, गण्डकी र तराईका जिल्लाहरुमा आज बिहानसम्म मौसम खुल्नुपर्ने अनुमान गरिए पनि झरी लम्बिएको हो ।
मौसमविद उज्वल उपाध्यायले मौसमी पूर्वानुमानका तीनवटा मोडेल (सुत्रहरु)को संयुक्त अध्ययन अनुसार यी प्रदेशमा झरी लम्बिएको बताएका छन् ।
झरी लम्बिनुको मुख्य कारण :
मोन्था आँधी बिहीबारदेखि कमजोर भएर सक्रिय रहेको (तर नबाहिरिएको) पश्चिमी वायुसँग यसको मिश्रण भई एक ठूलो संयुक्त प्रणाली बनेको छ । जसले व्यापक क्षेत्र ढाकेको छ ।
यो प्रणाली हिजो रातिसम्म कोशी हुँदै बंगालको खाडीतर्फ सर्नुपर्ने भएपनि बंगालको खाडी नजिकै थाइल्याण्डकाे दक्षिणी भू-भागमा निर्मित र हाल बङ्गलादेशमा अवस्थित नयाँ चक्रवातीय प्रणालीद्वारा उल्टो दिशामा (उत्तर–पश्चिम तर्फ) धकेलिएकाे उपाध्यायले बताएका छन्।
यसैबिच,अरब सागरबाट अर्को सक्रिय प्रणाली गुजरात–राजस्थान हुँदै उत्तर–पूर्वतर्फ अगाडि बढिरहेको उनले बताए । अहिले नेपालमा पश्चिम, दक्षिण र पूर्व तीनै दिशाबाट जलवाष्पयुक्त वायुको दबाव परेका कारण वर्षा गराउने बादलको ठुलो हिस्सा अहिले गण्डकी–बागमती–कोशी क्षेत्रमा ‘टसमस’ नगरी बसेको र लगातार वर्षा भइरहेको उनकाे भनाइ छ । हावामा जलवाष्पको मात्रा अत्यधिक भएको हुँदा वर्षा रोकिएको बेला पनि शीत परेजस्तो मसिना पानीका कण झरिरहेकाे उपाध्यायले बताएका छन्।
अब के हुन्छ ?
यस्तो अवस्थामा हल्का झरीमात्रै पर्ने र ठुलो वर्षा नहुने मौसमदि उपाध्यायले बताए । यस्ताे अवस्थामा बाढीको जोखिम भने अत्यन्त न्यून हुने उनले बताएका छन् । धेरै प्रणाली मिसिएको जटिल अवस्था भएकोले अब यो प्रणाली कतिबेर रहन्छ भन्न त्यति सजिलो भने नभएको उनकाे भनाइ छ ।
तर बादलको घनत्व घट्ने क्रममा रहेकोले अबको १२ घण्टामा मौसममा उल्लेख्य सुधार आउने सम्भावना रहेको उनले बताएका छन् । साँझसम्म वर्षा पूर्ण रुपमा रोकिने र भोलि बिहानैदेखि घाम लाग्ने सम्भावना भने धेरै रहेको उनको भनाइ छ ।


