काठमाडौं। सात वर्षदेखि जेलमा रहेका पूर्वबैंकर कमलप्रसाद ज्ञवालीलाई छाड्न अदालतले परमादेश जारी गरेको छ।
ज्ञवालीकी श्रमती गौरी खनाल ज्ञवालीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सोमबार सर्वोच्च अदालतले परमादेश जारी गरेको हो ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र अब्दुल अजीन मुसलमानको संयुक्त इजलालले बन्दी प्रत्यक्षीकरणको उक्त रिटमा परमादेश जारी गरेको थियो ।
गौरी खनाल ज्ञवालीले १० कात्तिकमा कारागार कार्यालय, डिल्लीबजार समेतलाई विपक्षी बनाउँदै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । सोही रिटमा सुनुवाई गर्दै ११ कात्तिकमा सर्वोच्चका न्यायाधीश मधराज पोखरेलले कारण देखाउ आदेश जारी गरेका थिए । सोही मुद्दामा सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलालले बन्दी प्रत्यक्षीकरणको उक्त रिटमा परमादेश जारी गरेसँगै पूर्व बैंकर ज्ञवाली जेलमुक्त हुने भएका हुन् ।
पूर्व बैंकरसमेत रहेका ज्ञवालीविरुद्ध ऋण दुरुपयोगको अभियोगमा मुद्दा दायर भएको थियो । सोही बेला तत्कालीन किष्ट बैंकका पूर्व प्रबन्ध सञ्चालकसमेत रहेका ज्ञवाली र उनकी श्रीमती गौरीलाई २०७३ असोजमा उच्च अदालत अन्तर्गतको वाणिज्य इजलास पाटनले तीन वर्ष कैद र १२ करोड ५० लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो ।
अदालतको फैसलापछि सोहीबेला पक्राउ परेकी गौरीलाई फैसला कार्यान्वयनका लागि कारागार चलान गरिएको थियो । तर, ज्ञवाली भने फरार भएका थिए ।
पछि उनलाई प्रहरीले २०७५ असोजमा भारतबाट पक्राउ गरेको थियो । अदालतको फैसलाको अवज्ञा गरेर फरार भएको भन्दै उनीमाथि सजाय थप गरिएको थियो । उनीमाथि जम्को प्रशासनका नाममा सिद्धार्थ डेभलपमेन्ट बैंकबाट ऋण लिएर दुरुपयोग गरेको आरोप थियो ।

