काठमाडौं । सूचीकृत १४ वटा विकास बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय रिपोर्ट सार्वजनिक गरेका छन् । जसमध्ये ६ वटा बैंकहरुले घाटा व्यहोरेका छन् । क्षेतीयस्तरका विकास बैंकहरुले धेरै घाटा व्यहोरेका हुन् ।
बैंकहरुले असोजसम्म ५ अर्ब ३० करोड रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ४.२९ प्रतिशत धेरै हो । गत वर्षको असोजमा बैंकहरुले ५ अर्ब ८ करोड नाफा कमाएका थिए ।
यता, १४ वटा विकास बैंकहरुले ५३ करोड ५५ लाख नाफा आर्जन गरेका छन् । यो गत वर्षको भन्दा ५४.२५ प्रतिशत कम हो । खराब कर्जामा देखिएको वृद्धिका कारण बैंकहरुले थुप्रै रकम प्रभोजनका लागि छुट्याएका छन् । आम्दानीको ठूलो हिस्सा इम्पेयरमेन्ट चार्जका लागि छुट्याउनु पर्दा नाफामा दबाब परेको हो ।
चुक्ता पुँजी र जगेडा कोष कसको कति ?
विकास बैंकहरुमध्ये मुक्तिनाथ विकास बैंक चुक्ता पुँजी ७ अर्ब ४ करोड भन्दा धेरै छ । त्यसपछि, गरिमा विकासको ५ अर्ब ६८ करोड, शाइन रेसुंगाको ४ अर्ब ८७ करोड, ज्योति विकासको ४ अर्ब ३९ करोड र महालक्ष्मी विकास बैंकको पुँजी ४ अर्ब २९ करोड छ ।
सबैभन्दा कम पुँजी नारायणी डेभलपमेन्टको छ । यता, मुक्तिनाथको जगेड कोषको आकार ३ अर्ब ७० करोड छ । त्यस्तै, गरिमाको ३ अर्ब १३ करोड र लुम्बिनी विकासको जगेड कोषमा ३ अर्ब २९ करोड छ ।

खुद ब्याज आम्दानी कसको कति ?
सबैभन्दा धेरै खुद ब्याज आम्दानी गर्नेमा मुक्तिनाथ विकास बैंकको अगाडि देखिएको छ । यसले ३ महिनामा १ अर्ब १८ करोड ब्याज आम्दानी गरेको छ । गरिमाको उक्त आम्दानी ९९ करोड ८५ लाख, शाइन रेसुंगाको ६४ करोड ५२ लाख, कामना सेवाको ६१ करोड ७६ लाख रुपैयाँ रहेको छ । नारायणीको खुद ब्याज आम्दानी ऋणात्मक छ ।

नाफा कसको कति ?
सबैभन्दा धेरै नाफा गर्नेमा गरिमा विकास बैंक अगाडि छ । यसले ३ महिनामा २५ करोड ५ लाख नाफा कमाएको छ । दोस्रोमा, मुक्तिनाथले २२ करोड ४७ लाख, शाइन रेसुंगाले २० करोड ३० लाख नाफा आर्जन गरेको छ । १४ बैंकमध्ये ६ वटा विकास बैंकहरुले खुद घाटा व्यहोरेका छन् । समग्रमा १४ वटा बैंकहरुले ५३ करोड ५५ लाख रुपैयाँ नाफा कमाएका छन् ।

प्रतिसेयर आम्दानी
कामना सेवा विकास बैंकको प्रतिसेयर आम्दानी २०.४६ रुपैयाँ छ । गरिमाको १७.६४, शाइन रेसुङगाको १६.६६, मुक्तिनाथ विकास बैंकको भने १२.७६ रुपैयाँ ‘इपीएस’ छ ।

लाभांश वितरण क्षमता
मितेरी डेभलपमेन्ट बैंकको लाभांश वितरण क्षमता १८.३१ प्रतिशत छ । मुक्तिनाथको १७.३८, शाइन रेसुंगाको १५.२७ प्रतिशत लाभांश क्षमता छ । ७ वटाको उक्त क्षमता ऋणात्मक छ ।
यता, कामना सेवा विकास बैंकको लाभांश क्षमता १४.०१ प्रतिशत देखिएको छ । यद्दपि, बैंकले पहिलो त्रैमासको रिपोर्ट सार्वजनिक हुन भन्दा अगाडि नै गत वर्षको नाफाबाट लाभांश वितरण गरेको थियो । त्यसैले यसको लाभांश क्षमता कम देखिएको हो ।
जबकी अरु विकास बैंकहरुले पहिलो त्रैमासको रिपोर्ट सार्वजनिक गर्नु अगाडि लाभांश वितरण गरेका थिएनन् । यस्तो हुँदा अरु बैंकहरुको रिटेन्ड अर्निङ धेरै देखियो । पहिलो त्रैमासमा अरु बैंकहरुको लाभांश क्षमता गत वर्षको सञ्चितलाई जोडेर निकालिएको छ ।
तर, कामनाको भने गत वर्षको रिटेन्ड अर्निङबाट लाभांश वितरण गरी बाँकी रहेको रकम लाई लाभांश क्षमातमा देखाइएको छ । तर, अरु बैंकहरुको यस्तो छैन । अन्यथा कामना सेवाको लाभांश क्षमता साढे १९ प्रतिशत हुने देखिन्छ । जुन सबैभन्दा धेरै हो ।


