काठमाडौं । फाइनान्स कम्पनीहरुले असोजसम्म ३३ करोड ४० लाख रुपैयाँ बराबरको खुद घाटा व्यहोरेका छन् । गत वर्षको सोही अवधिमा फाइनान्सहरुले समग्रमा ९ करोड २३ लाख नाफा कमाएका थिए । रिपोर्ट अनुसार १५ कम्पनीमध्ये ८ वटाले खुद घाटा व्यहोरेका छन् ।
खराब कर्जामा देखिएको वृद्धिका कारण बैंक तथा वित्ती संस्थाहरुले थुप्रै रकम प्रभोजनका लागि छुट्याएका छन् । आम्दानीको ठूलो हिस्सा इम्पेयरमेन्ट चार्जका लागि छुट्याउनु पर्दा नाफामा दबाब परेको हो । १५ फाइनान्स मध्ये ४ वटाको मात्र लाभांश वितरण क्षमता छ । अरु सबैको उक्त क्षमता ऋणात्कम छ ।
चुक्ता पुँजी र जगेडा कोष कसको कति ?
फाइनान्सहरुमध्ये मञ्जुश्रीको चुक्ता पुँजी १ अर्ब ३५ करोड रुपैयाँ भन्दा धेरै छ । त्यसपछि, आइसीएफसीको १ अर्ब १८ करोड, रिलायन्सको १ अर्ब १२ करोड, पोखराको १ अर्ब ८ करोड र गुहेश्वरीको १ अर्ब १ करोड र श्री इन्भेष्टमेन्टको पुँजि १ अर्ब रुपैयाँ रहेको छ । फाइनान्सहरुको समग्र चुक्ता पुँजी १४ अर्ब १३ करोड छ ।
यता, गुडविल फाइनान्सको जगेड कोषको आकार १ अर्ब ७४ करोड छ । त्यस्तै, पोखराको जगेडा कोषमा १ अर्ब ५ करोड रुपैयाँ जम्मा रहेको छ ।

खुद ब्याज आम्दानी कसको कति ?
सबैभन्दा धेरै खुद ब्याज आम्दानी मञ्जुश्री फाइनान्सको देखिएको छ । यसले ३ महिनामा २२ करोड ७९ लाख ब्याज आम्दानी गरेको छ । आइसीएफसीको उक्त आम्दानी १५ करोड ९३ लाख रुपैयाँ छ । समग्रमा फाइनान्सहरुले ९४ करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् ।

नाफा कसको कति ?
सबैभन्दा धेरै नाफा गर्नेमा मञ्जुश्री फाइनान्स अगाडि छ । यसले ३ महिनामा ४ करोड ६३ लाख नाफा कमाएको छ । दोस्रोमा, गुडविलले ३ करोड ७३ लाख, आइसीएफसीले २ करोड २४ लाख नाफा आर्जन गरेको छ । १५ फाइनान्समध्ये ८ वटाले खुद घाटा व्यहोरेका छन् । समग्रमा फाइनान्सहरुले ३३ करोड ४० लाख रुपैयाँ नोक्सानी व्यहोरेका छन् ।

प्रतिसेयर आम्दानी
मञ्जुश्री फाइनान्सको प्रतिसेयर आम्दानी १३.७३ रुपैयाँ छ । मल्टीपर्पसको ८.८९, सेन्ट्रलको ७.७८, आइसीएफसीको भने इपीएस ७.५९ रुपैयाँ छ ।


