काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.६१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
विद्युत बिक्री आम्दानी ४७ करोड ५२ लाखबाट बढेर ५३ करोड ८४ लाख रुपैयाँ पुगेको छ । यता, वित्तीय खर्च भने १८ करोड ६८ लाखबाट घटेर ११ करोड ६६ लाख कायम भएको छ । विद्युत बिक्री आम्दानी बढ्दा र वित्तीय खर्च घट्दा नाफामा सुधार आएको हो । ६ अर्ब ७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ८९ करोड ५७ लाख सञ्चिती छ । कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३० पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ७४ पैसा रहेको छ ।

