काठमाडौं । सञ्चालनमा रहेका २१ वटा लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । रिपोर्ट अनुसार यी संस्थाहरुको नाफामा भारी सुधार देखिएको छ । २१ वटा लघुवित्तले ३ महिनामा ६१ करोड ७१ लाख नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ७६९ प्रतिशत धेरै हो । गत वर्षको असोजमा यी संस्थाहरुले समग्रमा ७ करोड ९ लाख रुपैयाँ नाफा कमाएका थिए ।
यता, लघुवित्त संस्थाहरुको खुद ब्याज आम्दानी बढेको छ । त्यस्तै, केही संस्थाहरुको इम्पेयरमेन्ट चार्ज पनि गत वर्षको तुलनामा कम छ ।त्यसैले नाफामा सुधार आएको हो । २१ वटा कम्पनीले ३ महिनामा २ अर्ब ७३ करोड ब्याज आम्दानी गरेको छन् । गत वर्षको असोजसम्म कम्पनीहरुले १ अर्ब ९४ करोड खुद ब्याज आम्दानी गरेका थिए ।
चुक्ता पुँजी र जगेड कोष कसको कति ?
रिपोर्ट सार्वजनिक गर्ने २१ लघुवित्तमध्ये डिप्रोक्स लघुवित्तको चुक्ता पुँजी सबैभन्दा धेरै १ अर्ब ८६ करोड रुपैयाँ बराबर रहेको छ । एनआइसी एसिया लघुवित्तको १ अर्ब ७३ करोड, फर्स्ट माइक्रोफाइनान्सको १ अर्ब ३४ करोड, फरवार्ड माइक्रोफाइनान्सको १ अर्ब १९ करोड, सूर्योदय वोमी लघुवित्तको १ अर्ब १० करोड र आरएसडीसी लघुवित्तको चुक्ता पुँजी १ अर्ब ३ करोड रहेको छ ।
यता, जगेडा कोषमा भने फरवार्डको सबैभन्दा धेरै २ अर्ब ५ करोड रुपैयाँ जम्मा रहेको छ । डिप्रोक्सको १ अर्ब ५० करोड रुपैयाँ बराबरको जगेडा देखिएको छ ।
खुद ब्याज आम्दानी कसको कति ?
सबैभन्दा धेरै खुद ब्याज आम्दानी गर्नेमा डिप्रोक्स अगाडि देखिएको छ । यसले ३ महिनामा ५३ करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । एनआइसी एसिया लघुवित्तले ३७ करोड ९ लाख, फरवार्डले ३३ करोड ३९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । २१ वटा संस्थाहरुले समग्रमा २ अर्ब ७३ करोड ब्याज आम्दानी गरेका छन् ।

नाफा आर्जन गर्नेमा पनि डिप्रोक्स अगाडि
डिप्रोक्सले ३ महिनामा २० करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा करिब २०० प्रतिशत धेरै हो । २१ वटा कम्पनीहरुले समग्रमा ६१ करोड ७१ लाख नाफा कमाएका छन् । यो गत वर्षको भन्दा ७६९ प्रतिशत धेरै हो । रिपोर्ट सार्वजनिक गर्ने २१ वटा कम्पनीहरुमध्ये सीवाइसी नेपालले भने १ करोड ४५ लाख घाटा व्यहोरेको छ । 
प्रतिसेयर आम्दानी गुराँस लघुवित्तको धेरै
गुराँस लघुवित्तको प्रतिसेयर आम्दानी ५०.०३ रुपैयाँ पुगेको छ । त्यस्तै, नेष्डोको ४४.८, डिप्रोक्सको ४३.२९ रुपैयाँ इपीएस छ । २१ मध्ये ९ वटा कम्पनीको इपीएस २० रुपैयाँ माथि छ ।


